गृह जिल्लामा डा. रुइतद्वारा नि:शुल्क आँखा शिविर, स्थानीय हर्षित

ताप्लेजुङ । करिब तीन वर्षपछि आँखाको दृष्टि पुन:स्थापित भएपछि पाँचथरको हिलिहाङ गाउँपालिका–५ का ५५ वर्षीय वमप्रसाद योङ्हाङ र उनको परिवारमा यतिबेला खुसियाली छाएको छ । मोतियाबिन्दुका कारण पूर्णरुपमा आँखाको दृष्टि गुमाएका योङ्हाङ पुन:उज्यालो जीवनमा फर्किएपछि खुसियाली छाएको हो । योङ्हाङको दुवै आँखाको शल्यक्रिया भएको हो ।

यता फुङ्लिङ नगरपालिका १० फुरुम्बुकी ७५ वर्षीय मनकुमारी लेछर्बो खुसी छन् । केही वर्षदेखि आँखाको समस्या भोगिरएकी लेछर्बोले तुलनात्मकरुपमा राम्रोसँग देख्न थालेपछि खुसी भइन् । नेत्ररोग विशेषज्ञ डाक्टर सन्दुक रुइत र उनको टिमले योङ्हाङ र लेछर्बोसहित एक सय बढीको जीवनमा उज्यालो फर्काइदिएको छ । ताप्लेजुङमा आयोजित आँखा शिविरमा विभिन्न समयदेखि मोतियाबिन्दुका कारण ज्योति गुमेपछि अन्धकारमा परेका १५४ जनाको सफलतापूर्वक शल्यक्रिया भएको छ । शल्यक्रिया गरिएकामध्ये धेरैजसोले न्यूनरुपमा देख्ने गरेका थिए ।

बिहीबार भएको शल्यक्रियापछि शुक्रबार बिहान एक सय दुईजना बिरामीको आँखामा लगाइएको पट्टी खोलिएको थियो । पट्टी खोल्नासाथ अँध्यारोबाट उज्यालोमा फर्किएका बिरामीमा खुसीको सीमा थिएन । ज्योति फर्किएपछि केहीले गीत गाउँदै नाचेका थिए भने केहीले आफन्तसँग खुसियालीका साथ कुरा गरिरहेको देखिन्थ्यो । आँखाको पट्टी खोल्दै थप अवस्थाबारे बुझ्न डा. रुइत एक एक गर्दै सबैको साथमा पुगे । यही क्रममा उनलाई हात जोडेर सबैले धन्यवाद पनि दिए । शुक्रबार ५२ जनाको शल्यक्रिया भएको छ ।

नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङद्वारा बुधबारदेखि सञ्चालन भएको शिविरमा छिमेकी जिल्लासहितका गरी १०२ जनाको शल्यक्रिया भएको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजी गुरुङले जानकारी दिए। शिविर उक्त उपचार केन्द्रमै सञ्चालन भएको हो । नेत्र ज्योतिसङ्घले फुङ्लिङ नगरपालिका र सेवा फाउन्डेसनसँगको सहकार्यमा र तिलगङ्गा आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो ।

शिविरको पहिलो र दोस्रो दिन एक हजार ३२७ जनाले आँखा परीक्षणसहित उपचार सेवा लिएका बताइएको छ । मोतियाबिन्दुका बिरामीको छनोटका लागि जिल्लाको मैवाखोला र मिक्वाखोलामा फागुन १३ र १४ गते शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरबाट ३७ जना मोतियाबिन्दुका बिरामीको पहिचान भएको थियो ।

यस्तै यहाँस्थित शिविरबाट परीक्षण गरी मोतियाबिन्दुको पहिचान गरिएको थियो । परीक्षणका क्रममा ४० वर्षभन्दामाथि उमेर समूहका सेवाग्राहीलाई चस्मा तथा आवश्यकताअनुसारका औषधि नि:शुल्क उपलब्ध गराइएको थियो । शिविरमा डा. रुइत आउने सुनेपछि सामान्यदेखि जटिल प्रकृतिका बिरामीको बाक्लो उपस्थिति थियो । जिल्लाको ओलाङचुङ्गोलामा जन्मिएका डा. रुइत यसअघि फक्ताङ्लुङ गाउँपालिकामा आयोजित शिविरमा आएका थिए । यो पटक उनको परिवार नै गृह जिल्लामा आएर उपचार सेवामा संलग्न भएको छ ।


Recommended For You