प्रमुख निर्वाचन आयुक्त भेटवार्ता

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र ‘युनाइटेड नेसन वुमन’का देशीय प्रतिनिधि पत्रिसिया फेरनान्डेजबीच आयोगको कार्यालयमा भेटवार्ता भएको छ ।

प्रमुख आयुक्त थपलियाले नेपालको विकासका प्रयासमा ‘युएन वुमन’ले गरेका विभिन्न प्रयासको चर्चा गर्दै हाल लैङ्गिक समावेशीकरणका क्षेत्रमा सरकारका विभिन्न निकायसँग भएका सहकार्यकाबारेमा जानकारी गराए ।उनले लैङ्गिक तथा समावेशी नीतिको मूल्याङ्कन, चौथो रणनीतिपत्र तयारीका साथै सोको कार्यान्वयनमा युएन वुमनमार्फत सहकार्य गर्न आह्वान गरे।

देशीय प्रतिनिधि पत्रिसियाले नेपालको लैङ्गिक तथा समावेशीकरणको सफलता उदाहरणीय रहेको उल्लेख गर्दै राजनीतिक क्षेत्रमा महिलाको गुणस्तरीय सहभागिता वृद्धिका लागि थप नीतिगत व्यवस्था गर्न आवश्यक रहेको बताए । उनले आयोगले अवलम्बन गरेका लैङ्गिक समावेशीकरणका प्रयासमा हरसम्भव सहयोग गर्ने विश्वास दिलाए ।

भेटवार्तामा निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधर, सहसचिव रमेश ढकाल र उपसचिव डा. थानेश्वर भुसाललगायतको उपस्थिति रहेको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए ।


Recommended For You