काठमाडौँ । राष्ट्रिय सभाको अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सांसद नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । राष्ट्रि सभाको बैठकमा भएको मतविभाजन प्रक्रियाको मत–परिणाम सुनाउँदै सभाको अध्यक्षता गरिरहेकी उपाध्यक्ष उर्मिला अर्यालले दाहालका पक्षमा ३९ मत परेकाले दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पारित भएको घोषणा गरे ।
त्यसअघि दाहालका प्रतिस्पर्धी विपक्षी दलका उम्मेदवार नेपाली काँग्रेसका सांसद युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १७ मत परेको थियो । दुवै प्रस्तावको मतदानमा ५६ सांसद सहभागी भयो भने एक सांसद तटस्थ बसे । ५९ सदस्यीय हुने सभामा हाल ५८ सदस्य कायम छन् ।दाहाललाई अध्यक्ष पदको उम्मेदवारका लागि माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की अछामीले प्रस्ताव गरेका थिए भने नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद देवेन्द्र दाहाल, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सांसद बेदुराम भुसाल र जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले समर्थन गरे ।
सभाका नवनिर्वाचित अध्यक्ष दाहाललाई बधाई दिँदै उपाध्यक्ष अर्यालले कार्यकालको सफलताको कामना गरिन् । नेपाली कांग्रेसका उम्मेदवार शर्मालाई अध्यक्ष पदमा नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले प्रस्ताव गरेका थिए भने काँग्रेसकै सांसद किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका किशोरकुमार सिंहले समर्थन गरे । सभाको अर्को बैठक यही फागुन ३० गते बुधबार १ बजेर ९ मिनेटमा बस्नेछ ।
