नेपालको सुन्दर प्रकृति र वैभवशाली संस्कृति विश्वको आकर्षण हो : राष्ट्रपति पौडेल

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले सुन्दर प्रकृति र वैभवशाली संस्कृतिले नेपाल विश्वमा आकर्षणको केन्द्र बनेको बताएका छन् । ललितपुरको बालकुमारीस्थित पुन: निर्मित बालकुमारी मन्दिर समुद्घाटन समारोहमा राष्ट्रपति पौडेलले काठमाडौँ, ललितपुर र भक्तपुरका महत्त्वपूर्ण ऐतिहासिक सम्पदाहरूको पुन:निर्माण गरी जीवन्त राख्न गरेको प्रयास र यसले पर्यटन प्रवर्द्धनमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताए ।

“काठमाडौँ उपत्यका कला र बहुसंस्कृतिको वैभवशाली सहर हो । ललितपुर महानगरले धेरै सम्पदा पुन:निर्माण गरेर ताजगीपन दिन गरेको योगदान सराहनीय छ । देशभरका स्थानीय तहमध्ये यो महानगर उदाहरणीय पालिका बन्न सफल भएको छ । यहाँको अनुशरण अरु स्थानीय तहले गर्ने हो भने देश समृद्ध बन्नेमा विश्वस्त हुन सकिन्छ”, राष्ट्रपति पौडेलले भने । उनले पर्यटनको विकासका लागि हाम्रो कला र संस्कृति विश्वमा आकर्षणको केन्द्र बनेकाले यिनको जगेर्ना गर्नुपर्नेमा जोड दिए ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ०७२ को भूकम्पले क्षतविक्षत् भएको बालकुमारी मन्दिर बनाउन महानगरपालिकाले आर्थिक सहयोग गरेको जानकारी दिँदै मन्दिर पुन:निर्माण गरी राष्ट्रपतिको हातबाट समुद्घाटन गर्न पाएकामा खुसी व्यक्त गरे ।

उनले देवालय, शिवालयजस्ता पुरातात्विक महत्वका सम्पदा निर्माणमा सार्वजनिक खरिद ऐन, २०६३ बाधक भएको भन्दै उक्त ऐन संशोधन गर्न सुझाव दिए । उनले कुनै समस्या सिर्जना नहुने गरी आफ्नो कार्यकालभित्र ऐतिहासिक महत्त्वका एक सय ५५ वटा मठमन्दिर, पाटीपौवा, देवालय, शिवालय, फाल्चा निर्माण सम्पन्न गरेको पनि जानकारी दिए । बालकुमारी मन्दिर संरक्षण तथा पुन:निर्माण समितिका अध्यक्ष खड्गलाल महर्जनले मन्दिरको ऐतिहासिक पृष्ठभूमि तथा पुन:निर्माणका बारेमा जानकारी गराए ।


Recommended For You