काठमाडौँ । नेपाल औषधि लिमिटेडले थप तीन प्रकारका औषधि उत्पादन सुरु गरेको छ । लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले आजदेखि सेन्ट्रिमाइन, एमजिट र एमजिट–डिएफ नामका औषधि उत्पादन सुरु गरेको जानकारी दिए ।
तीनैवटा औषधि ट्याबेलटमा छन् । एउटा औषधि दैनिक डेढ लाख ट्याबलेट उत्पादन गर्ने उनको भनाइ थियो । यसअघि लिमिटेडले जीवनजल, सिटामोल, फोलिक एसिड, हेमाडायलासिसका दुई प्रकार (झोल र प्याकेटमा), ग्लिसिरिन, डिस्ट्रिल वाटर र स्यानिटाइजरलगायत उत्पादन गरिरहेको थियो ।
“सरकारले आर्थिक सहयोग गरेको खण्डमा हामी थप अरु औषधि पनि उत्पादन गर्न सक्छौँ”, उनले भने । महाप्रबन्धक पनेरुले सरकारले २० प्रकारका औषधि उत्पादनका लागि २४ करोड बजेट विनियोजन गर्ने भने पनि बजेट प्राप्त नहुँदा औषधि उत्पादनमा समस्या भएको बताए । २०२९ मा स्थापना भएको लिमिटेडले कुनै समय एक सय २० प्रकारका औषधि उत्पादन गर्दथ्यो । तर ०६२ सालमा उत्पादन बन्द भएपछि ०७४ सालमा पुन: सिटामोल उत्पादन गरी लिमिटेड सञ्चालनमा ल्याइएको हो । हाल आजदेखि सुरु तीन प्रकारकासहित लिमिटेडबाट उत्पादन हुने औषधिको सङ्ख्या ११ पुगेको छ ।
