कर्णालीका मुख्यमन्त्रीद्वारा राजीनामाको घोषणा

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिने घोषण गरेका छन् । प्रदेश सभाको बैठकमा सम्बोधन गर्दै जानकारी गराएका हुन् ।केन्द्रको सत्ता समीकरण परिवर्तन भएसँगै उनले पदबाट राजीनामा दिएका हुन् । कर्णालीमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)लाई मुख्यमन्त्री दिने सत्तारुढ दलबीच सहमति भएबमोजिम नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट मुख्यमन्त्री रहेका शर्माले राजीनाको घोषणा गरे ।
मुख्यमन्त्री शर्माले सङ्घ र प्रदेशमा विकसित राजनीतिक अस्थिरताका कारण संसदीय अङ्क गणितको प्रहारमा प्रदेश सरकार रुमलिएको बताए । उनले सत्ता समीकरणका फेरबदलका कारण नियमित काममा अवरोध भएको समेत अनुभव सुनाए ।“सङ्घ र प्रदेशमा विकसित राजनीतिक अस्थिरताका कारण नियमित काम गर्न नसक्ने अवस्था आयो”, उनले भने, “राजनीतिक समीकरणमा भएको परिवर्तनले पटक–पटक विश्वासको मत लिनुपर्ने अवस्था आएको छ ।”
उनले कर्णाली प्रदेश समृद्धिका लागि सबै पक्ष सकरात्मक भएर लाग्नुपर्नेमा जोड दिए । उनले आफूले कार्यकालभरी धेरै काम गरेको उल्लेख गर्दैै अझै कतिपय काम चाहेर पनि गर्न नसकेको बताए ।डिजिटल कर्णालीका लागि आवश्यक रणनीति तथा कर्णाली लगानी सम्मेलनका लागि प्रयास भएको उनले बताए । “कर्णालीका २३ वटा स्थानीय तहलाई नमुना बनाउनेतर्फ पनि काम भएका छन्”, उनले भने, “योजना छनोटलाई वस्तुगत तथा प्रभावकारी बनाइएको छ ।”

Recommended For You