गण्डकी प्रदेशको मुख्यमन्त्रीमा अधिकारी नियुक्त

गण्डकी । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का गण्डकी प्रदेश सभा संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि आजै नेता अधिकारीले एमालेका २२, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का आठ (सभामुखसहित) र एक स्वतन्त्र गरी ३१ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यन्त्रीमा दाबी पेस गरेका थिए । ६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री बन्न ३१ बहुमत सदस्यको समर्थन चाहिन्छ ।

नेपाली कांग्रेसले भने मुख्यमन्त्री नियुक्ती प्रकृया असंवैधानिक भएको भन्दै प्रदेश प्रमुख भट्टलाई पत्र बुझाएको छ । राजीनामा नदिइकन सरकार गठनका लागि सभामुखको समर्थन रहेको देखाउनु गलत भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए ।


Recommended For You