विराटनगर । कोसी प्रदेश सभा नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले कोसी प्रदेशसभामा बहुमतले पारित सङ्कल्प प्रस्तावमा कोसी प्रदेशका मुख्य न्यायाधिवक्ताले गरेको टिप्पणी र पेस गरेको रायले प्रदेश सभाको विशेषाधिकारको हनन भएको बताएका छन् ।
सङ्कल्प प्रस्तावप्रति मुख्य न्यायाधिवक्ताले मुख्यमन्त्री केदार कार्कीकातर्फबाट पेस गरेको राय नेपालको संविधानको धारा १८७ को उपधारा २ बमोजिम सभाको विशेषाधिकार हनन भएको उनको दाबी छ ।
कोसी प्रदेश सभा सचिवालयको सभाहलमा संसदीय पत्रकार मञ्चसँग भएको भेटघाटमा उनले भने, “गत चैत २६ गते नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले दलगत दिएको विश्वासको मत फिर्ता लिइसकेपछि वैशाख ३ गते कोसी प्रदेशसभामा दर्ता भएको सङ्कल्प प्रस्ताव वैशाख ७ गते बहुमतले पारित भएपछि उनले विश्वासको मत लिनुपर्ने नभए मार्ग प्रशस्त गर्नुपर्ने हाम्रो ठहर हो ।”
सभामुख अम्बरबहादुर विष्टले पनि ३० दिनभित्र विश्वासको मत लिन दिएको निर्देशन नमान्नु पनि न्यायोचित नभएको उनको भनाइ थियो । उनले मुख्यमन्त्री कार्कीले आगामी वैशाख २५ गतेभित्र विश्वासको मत नलिएमा नयाँ सरकार बन्ने प्रक्रिया सुरु हुने धारणा राखे ।
