सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि बोलाइएको प्रदेश सभाको बैठक शनिबार बस्ने गरी स्थगन गरिइएको छ । अपराह्न ५बजे बस्ने भनिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक सभामुखको निर्देशानुसार शनिबार अपराह्न ५ः३०बजे बस्ने गरी स्थगित भएको प्रदेश सभा सचिलयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।
प्रदेश सभाको बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्यसूची थियो । यसअघि आजै बिहान बस्ने तय भएको प्रदेश सभा, कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्न सकेन । सत्तासाझेदार नेकपा (एमाले)ले आफूहरुको तयारी नपुगेको र थप छलफल गर्नुपर्ने भनेपछि बैठक स्थगित भएको नेकपा (एकीकृत समाजवादी)संसदीय दलका उपनेता प्रकाश रावलले बताए । “सत्ता साझेदार दल सबैबाट मुख्यमन्त्रीले विश्वासको मत पाउनेमा विश्वस्त छौं” उनले भने,“मुख्यमन्त्रीले विश्वासको मत लिन आह्वान भएको बैठकमा प्रतिपक्षी नेपाली काँग्रेसले प्रतिवाद गर्ने कुरा उसको धर्म हो ।” सोडारीलाई असंवैधानिक ढङ्गले मुख्यमन्त्रीमा नियुक्त गरिएको जिकिर गर्दै काँग्रेसले मुख्यमन्त्रीले विश्वासको मत लिन खोजे अवरोध सिर्जना गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्रीले विश्वासको मत लिन प्रदेश सभाको बैठक आह्वान भएपछि प्रदेश सभामा प्रतिनिधित्व गर्ने नागरिक उन्मुक्ति पार्टी(नाउपा) संसदीय दलका प्रमुख सचेतक खुशीराम डगौराले मुख्यमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न आजै निर्देशन (ह्विप) जारी गरेका छन् ।
सोडारी नेतृत्वको सरकारमा नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षधर दुई प्रदेश सभा सदस्य मन्त्री छन् । नाउपा अध्यक्ष रञ्जिता अहिलेकै सत्तागठबन्धनलाई सहयोग गर्नुपर्ने पक्षमा र संस्थापन संरक्षक रेशमलाल चौधरी नेपाली काँग्रेस सहितको गठबन्धनको पक्षमा छ । नाउपामा देखिएको आन्तरिक विवादकै कारण संस्थापक संरक्षक पक्षधर पाँच सदस्यको तर्फबाट प्रमुख सचेत डगौराले विपक्षमा मत दिन ह्विप लगाएको हो । यो पार्टीको आन्तरिक विवाद थप चर्किने देखिएको छ । नेकपा (एमाले),नेकपा (माओवादी केन्द्र),नागरिक उन्मुक्ति पार्टीका दुई सदस्य,स्वतन्त्र सदस्य डा.तारा जोशीको समर्थनमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता सोडारी यही वैशाख ६ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
त्रिपन्न सदस्यीय प्रदेश सभामा ठूलो दल नेपाली काँग्रेसका १८,नेकपा (माओवादी केन्द्र)को सभामुखबाहेक १०, नेकपा (एमाले)को ११ ,नागरिक उन्मुक्ति पार्टीको सात,नेकपा (एकीकृत समाजवादी) पार्टीका चार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एक र एक स्वतन्त्र सदस्य छन् ।
