मधेस प्रदेशका ९० प्रतिशत नागरिक बिमाको पहुँच बाहिर

पर्सा । मधेस प्रदेशका ९०.६ प्रतिशत नागरिक बिमाको पहुँच बाहिर रहेका छन् । बिमासम्बन्धी सचेतनाको कमी र सीमापार बिमा गर्ने परिपाटीका कारण बिमाप्रतिको आकर्षणमा कमी आएको हो । मधेस प्रदेशको जनसङ्ख्या ६१ लाख १४ हजार रहेको छ । नेपाल बिमा प्राधिकरण मधेस प्रदेश कार्यालयका अनुसार प्रदेशको कुल जनसङ्ख्यामध्ये २०८० चैत मसान्तसम्म ९.४ प्रतिशत अर्थात् पाँच लाख ७३ हजार चार सय ३३ ले मात्रै बिमा गराएका छन् ।

मधेस प्रदेशमा बिमाप्रति सर्वसाधारणको आकर्षण कम रहेको देखाउँछ । नेपाल बिमा प्राधिकरण मधेस प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले मधेस प्रदेशमा बिमाको पहुँच कम भएकाले तीनवटै तहका सरकारको समन्वयमा प्रदेशभरिका जनताको बीमा गर्ने योजना अघि बढाउन आवश्यक रहेको बताए । “मधेस प्रदेशमा बिमाको पहुँच न्यून देखिएको छ । यहाँका जनताको आर्थिक तथा स्वास्थ्यको स्तर कमजोर भएकाले तीनवटै तहको सरकारले आवश्यक समन्वय गरेर प्रदेशभरिका जनताको बीमा गरिदिने परिपाटीको विकास गर्न आवश्यक देखिएको छ”, उनले भने, “यसअघि कर्णाली प्रदेश सरकारले त्यहाँका सबै जनताको बिमा गरिदिएझँै यहाँ पनि सबै जनताको बिमा गर्न जरुरत देखिन्छ, त्यसका लागि आवश्यक सहजीकरण गर्न प्राधिकरण तयार छ ।”

मधेस प्रदेशमा मात्रै होइन, समग्र मुलुकभरिका नागरिकमा बिमा पहुँचको अवस्था सन्तोषजनक छैन । ०८० को चैत मसान्तसम्म मुलुकभरिका ४३.३ प्रतिशत जनसङ्ख्या मात्रै बिमाको पहुँचमा छन् । अझै ५६.७ प्रतिशत नागरिक जीवन बिमाको पहुँचभन्दा बाहिर छन् । ०७५ सम्म मुलुकभरि १७ प्रतिशत जनता बिमाको पहुँचमा थिए ।

प्राधिकरण मधेस प्रदेश कार्यालयका सहायक निर्देशक निर्मल खनालले मधेस प्रदेशका नागरिकमा बिमा साक्षरतासम्बन्धी ज्ञानको कमी र सीमावर्ती बजारमा बिमा गर्ने परम्पराले बिमाको पहुँचमा कमी आएको बताए । “मधेस प्रदेशमा उच्च गरिबी र अशिक्षाका कारण बिमा गर्नुपर्छ भन्ने सोचको विकास हुन सकेको छैन”, उनले भने, “भारतीय सीमावर्ती बजारका कारण सीमापारी बिमा गर्ने परिपाटीले मधेस प्रदेशमा बिमाप्रति सर्वसाधारणको आकर्षण अपेक्षाकृत रुपमा बढाउन सकिएको छैन ।” बिमाबाट अनुचित लाभ लिन खोज्ने प्रवृत्ति, बिमकको शाखा÷उपशाखामा न्यून जनशक्ति र बीमासम्बन्धी गलत बुझाईले बीमालाई प्राथमिकता नदिँदा आकर्षण बढ्न सकेको छैन ।

 


Recommended For You