दाङमा ३७ हजारभन्दा बढी बालबालिकालाई ‘आइपिभी’ खोप लगाइँदै

दाङ । दाङमा ३७ हजार सात सय ५५ बालबालिकालाई पोलियो खोपविरुद्धको ‘आइपिभी’ खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय दाङले घोराहीमा आयोजना गरेको पत्रकारसँग अन्तरक्रियामा यही जेठ १३—२६ सम्म सञ्चालन हुने खोप अभियानमा २०७३ देखि ०७५ सालसम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई खोप दिने तयारी भएको जानकारी दिइयो ।

खोप संयोजक झग्गुप्रसाद आचार्यले पहिलो चरणमा यही जेठ १३ देखि १७ गतेसम्म तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर, दङ्गीशरण र बबई गाउँपालिका र दोस्रो चरणमा २२ देखि २६ गतेसम्म घोराही उपमहानगरपालिका, लमही नगरपालिका, बङ्गलाचुली, राप्ती, गढवा र राजपुर गाउँपालिकामा खोप सञ्चालन हुने आचार्यले जानकारी दिए ।

जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले सकेसम्म लक्षित उमेरका बालबालिका रहेका सबै विद्यालयमा केन्द्र राखेर खोप लगाइने बताए ।
प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले दाङलाई पोलयोमुक्त गराउन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे । घोराहीका नगरप्रमुख नरुलाल चौधरीले पोलियो खोपलाई प्रभावकारी बनाउन नजिकको खोपकेन्द्रमा लगेर आफ्ना बालबालिकालाई खोप लगाउन आग्रह गरे । स्वास्थ्य

कार्यालयका निमित्त प्रमुख किशोर आचार्यले पोलियोविरुद्ध ०७१ सालदेखि नेपालमा खोप लगाउन सुरु गरिए पनि ०७३ देखि ०७५ सालसम्म खोप उपलब्ध नभएकाले नेपालभरिका बालबालिका खोपबाट वञ्चित भएकाले खोप अभियान सञ्चालन गरिएको बताए । पोलियो भएकामध्ये ३ प्रतिशत बालबालिकालाई पक्षघात हुने र त्यसको उपचार नभएकाले सङ्क्रमण हुनबाट जोगाउन बालबालिकालाई खोप दिने गरिन्छ ।


Recommended For You