नवगठित सरकारलाई जनगुनासा सम्बोधन गर्न सांसदको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले नवगठित केपी शर्मा ओली नेतृत्वको सरकारलाई बधाई दिँदै जनताका गुनासा सम्बोधनका लागि ध्यानाकर्षण गराएका छन् । उनीहरुले संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)लगायतको सहभागिता रहेको यस सरकारले मुलुकमा राजनीतिक स्थायित्वसँगै आर्थिक गतिविधिलाई चलायमान बनाउने विश्वास व्यक्त गरे ।
सांसदहरुले मुलुक मनसुनजन्य विपद्को चपेटामा परेको, बाढीपहिरोबाट नागरिकको जिउधन नष्ट भएको, बाढीपहिरोमा फसेका नागरिकको खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए । सांसद बीना लामाले उत्तरी धादिङमा बाढीपहिरोबाट स्थानीय जनजीवन कष्टकर भएकाले समयमै राहत उपलब्ध गराउन र प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरिन् ।
सांसद बिनिताकुमारी सिंहले लागुपदार्थ सेवन गरी तीव्र गतिमा सवारी चलाउँदा हुलाकी राजमार्गमा दुर्घटना बढेकाले ट्राफिक जनचेतना अभिवृद्धि गर्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद विराजभक्त श्रेष्ठले विपद् जोखिम न्यूनीकरणका लागि राष्ट्रिय सहमति खोजिनुपर्नेमा जोड दिनुभयो । सांसद बीना जैसवालले पर्साको सिर्सिया खोलाको अवैध दोहन रोक्न माग गरे । सांसद शक्तिबहादुर बस्नेतले बक्यौता विद्युत् महसुल जसरी भए पनि उठाउनुपर्नेमा जोड दिए । सांसद श्यामकुमार घिमिरेले सिन्धुलीको गड्तीर क्षेत्रमा सिँचाइका आयोजना सञ्चालन गर्न माग गरे ।
सांसद शान्ति विकले समाजसेवामा खटिइएका महिलाको चरित्र हत्या गर्नु दण्डनीय रहेको बताइन् । सांसद शिशिर खनालले पर्यटन प्रवद्र्धनमा सरकारले ध्यान दिन नसकेको उल्लेख गर्दै अर्थतन्त्रको आधारशिलाका रुपमा रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारसँग माग गरे । सांसद शेरबहादुर कुँवरले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाइनुपर्नेमा जोड दिँदै युद्धग्रस्त मुलुकमा नेपाली श्रमिक पठाउनेबारेमा सोच्नुपर्ने धारणा राखे । सांसद शोभा ज्ञवालीले बर्दिया जिल्ला अस्पतालमा चिकित्सक तथा कर्मचारीको अभाव भएकाले दरबन्दी अनुसारका जनशक्ति उपलब्ध गराउन सरकारसँग माग गरिन् ।
सांसद सन्तोष चालिसेले मनसुनजन्य विपद्बाट धेरै नागरिकले ज्यान गुमाइरहेको अवस्थामा राजनीतिक दल सत्ता स्वार्थमा रुमलिनु बिडम्बना भएको बताए । सांसद सन्तोष परियारले संविधानको भावना विपरीत समावेशिताको विषय ओझेलमा परेको उल्लेख गर्दै राज्यका सबै निकायमा समावेशिताको सिद्धान्तलाई परिपालना गर्न सभामुखबाट निर्देशनको माग गरे ।  सांसद सपना राजभण्डारीले अवैधरुपमा पर्यटक भिसामा मानव तस्करी हुने गरेकामा सरकारको ध्यानाकर्षण गराउँदै मानव तस्करी रोक्न माग गरिन् । सांसद सर्वेन्द्रनाथ शुक्लाले कोरोना समयमा बन्द भएको छोटी भन्सार कार्यालय तत्काल सञ्चालनमा ल्याउन माग गरे । सांसद सरस्वती बजिमयले पारदर्शिता, जवाफेदहिता र कानुनी शासनलाई परिपालना गरेर सुशासन कायम गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
 सांसद सीता मिजारले विपद्पश्चात राहत तथा पुनःस्थापनामा तीनै तहका सरकारको ध्यान जान जरुरी रहेको बताइन् । सांसद सुमना श्रेष्ठले शिक्षा क्षेत्र सुधारका सम्बन्धमा गठित कार्यदलले तयार गरेका कतिपय प्रतिवेदन गोप्य राखिएकाले ती प्रतिवेदन सार्वजनिक गर्न माग गरिन् । सांसद सुशीला थिङले मन्त्रिपरिषद्मा महिलाको उचित प्रतिनिधित्व नभएकामा रोष प्रकट गर्दै संविधानको भावनाअनुसार महिला प्रतिनिधित्व गराउन सरकारको ध्यानाकर्षण गराइन् ।

Recommended For You