मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभाको बैठकमा मुख्यमन्त्री लामाले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा उपस्थित एक सय तीनजना प्रदेश सभा सदस्यमध्ये ६४ मत परेको थियो । प्रस्तावको विपक्षमा ३५ र तटस्थमा तीन मत परेको सभामुख भूवनकुमार पाठकले जानकारी दिए ।
विश्वासको मतका पक्षमा सत्ता गठबन्धन दल नेपाली कांग्रेसका ३७ र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को २७ गरी जम्मा ६४ मत खसेको हो । यसैगरी विपक्षमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपाका प्रदेश सभा सदस्यले मतदान गरेका थिए भने नेपाल मजदुर किसान पार्टीका तीनजना तटस्थ बसे ।
बैठकमा हाम्रो नेपाली पार्टीको दुई र राप्रपाका पाँच गरी सात जना अनुपस्थित रहे । बागमती प्रदेश सभा एक सय १० सदस्यीय छ । प्रदेश सभाको अर्को बैठक भोलि साउन १६ माअपराह्न १ बजे बस्नेगरी सभामुख भुवनकुमार पाठकले बैठक स्थगित गरे ।
