काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली वामपन्थीलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न पुष्पलाल श्रेष्ठको महत्वपूर्ण योगदान रहेको बताएका छन् । पुष्पलाल राष्ट्रिय पुरस्कार–२०८० समर्पण समारोहलाई राष्ट्रपति कार्यालय शीतलनिवासमा सम्बोधन गर्दै उनले पुष्पलाल नेपाली राजनीतिका एक मूर्धन्य, प्रतिभाशाली, इमान्दार र स्वप्नशील नेता भएको धारणा राखे ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा पुष्पलालले पु¥याएको योगदानको स्मरण गर्दै राष्ट्रपति पौडेलले भने, “पुष्पलालले हिंसाबाट नभई लोकतान्त्रिक प्रक्रियाबाट नै समाजका अन्तरविरोध र सङ्कट समाधान हुनसक्छन् भन्ने ठान्नु आफैँमा त्यो समयको कम्युनिष्ट आन्दोलनका लागि महत्वपूर्ण प्रस्ताव थियो र त्यसले नेपाली वामपन्थीलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न एउटा महत्वपूर्ण वैचारिक मार्ग प्रसस्त ग-यो । यसका लागि पुष्पलालको ठूलो योगदान छ भन्ने मलाई लाग्छ ।” नेता मदन भण्डारी र पुष्पलालले कम्युनिष्टलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न भूमिका खेल्नुभएको उनले उल्लेख गरे ।
राष्ट्रपति पौडेलले पुष्पलालले नेपाली समाजको आर्थिक ढाँचा, वर्ग विश्लेषण, उत्पादन प्रणाली र उत्पादन सम्बन्धको गहिरो विश्लेषण तथा समाजका अन्तरविरोधलाई सुविचारित ढङ्गले अभिलेखन गर्न योगदान गरेको बताए । उनले पुष्पलाल असल नेता, लेखक र चिन्तक भएको स्मरण गरे । देशमा लोकतन्त्र स्थापना गर्नका लागि पञ्चायतइतरका शक्ति मिलेर सङ्घर्ष गर्नपर्छ भन्ने पुष्पलालको विचारका कारण २०४६ सालमा कांग्रेस र वाम मोर्चा मिलेर बहुदलीय प्रजातन्त्र पुनःस्थापना गर्न सम्भव भएको उनको भनाइ थियो ।
पुष्पलालसँग बनारसमा भेटेको स्मरण गर्दै राष्ट्रपति पौडेलले भने, “पञ्चायतका विरुद्धमा सङ्घर्ष गरीरहेका कांग्रेस र कम्युनिष्टका कार्यकर्तालाई उहाँले समान स्नेह गर्नुहुन्थ्यो । हामी बिपीलाई भेट्न बनारस जाँदा पुष्पलाललाई भेट्न गएका थियौँ । आन्दोलनका बारेमा कुराकानी भयो । काठमाडौँमा कोसँग सम्पर्क गर्नेभन्दा हिरण्यलाल श्रेष्ठसँग गर्नु भन्नुभयो । माइला दाइले भनेको है भनेर पनि भन्नुभयो ।”
अग्रज नेताहरूको सङ्घर्ष, त्याग र नेपाली जनताको ठूलो बलिदानबाट आज सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको राष्ट्रपति पौडेलले बताए । उनले नेपालको संविधानले वास्तविक रुपमा नेपाली जनतालाई मालिक बनाएको स्पष्ट पारे । राष्ट्रपति पौडेलले भने, “नेपालको संविधानले वास्तविक रुपमा नेपाली जनतालाई मालिक बनाएको छ । हामी त्यही संविधान कार्यान्वयनको चरणमा छौँ तर पनि अझै हामीले जनताले अनुभूत गर्नसक्ने गरी यसको व्यवहारिक कार्यान्वयन गर्न नसकिरहेको अवस्था चिन्ताको विषय हो । जनताले अनुभूत हुने गरी लोकतन्त्रको प्रतिफल उनीहरूको घरदैलोसम्म पु-याउनसके मात्र यस्ता नेताहरूप्रति सच्चा श्रद्धाञ्जली हुनेछ भन्ने हामी नबिर्सौं ।”
