काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पताललाई अन्तर्राष्ट्रिय मापदण्डको बनाइने बताएका छन् । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालको निरीक्षण पश्चात मन्त्री पौडेलले सफाइ र सेवाको प्रभावकारिता बढाउन आग्रह गरे । उनले भने, “यहाँ आइसकेपछि आफूलाई बेवास्ता भएको महसुस सेवाग्राहीले नगरुन् । यहाँ सीमित स्रोत र साधनमा भइरहेको काम प्रसंशनीय छ, यद्दपि तपाईहरूको अझैँ धेरै सक्रियता राज्य र जनताले खोजेको छ ।”
आफू यसै क्षेत्रको सांसदका रुपमा प्रतिनिधित्व गर्ने भएकाले पनि यस अस्पतालसँग र यहाँका समस्यासँग आफू जानकार रहेको मन्त्री पौडेलले बताउनुभयो । “अस्पतालमा भीड कसरी घटाउन सकिन्छ भन्नेतर्फ सबैले सोच्नु जरुरी छ । यसका लागि हामीले डिजिटल रुपमा सेवा सुरू गरेका छौँ, यसको प्रयोग सुरुआती दिनमा कम देखिए पनि विस्तारै बढ्छ । कुनै व्यक्ति उपचार गराउन आउँदा सोही दिन उसले सेवा सुविधा पाउनुपर्छ, यसलाई सम्भव गर्न यहाँका चिकित्सकसँगै सम्पूर्ण अस्पताल परिवारको सहयोग र सहकार्य चाहिन्छ”, उनले भने ।
मन्त्री पौडेलले चिकित्सकले यसलाई पेसासँगै सामाजिक दायित्वका रुपमा लिनुपर्नेमा जोड दिने । फरक प्रसङ्गमा उहाँले वीर अस्पताल झैँ चिकित्सक र कर्मचारीले सेवा सुविधा नपाएको सुनिएकाले त्यसमा सक्दो समानता ल्याउने बताए ।
