काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले प्रविधिको विकासँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै गएको बताएका छन् ।
प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले आयोजना गरेको ‘फौजदारी न्याय प्रणालीमा देखिएका चुनौती र सुधारका उपाए’ विषयक कार्यशालामा प्रधानन्यायाधीश रावतले अपराध अनुसन्धानमा व्यावसायिक क्षमता विकास गर्नसके फौजदारी न्याय प्रणाली थप सुदृढ हुने विश्वास व्यक्त गरे । उनले प्रभावकारी फौजदारी न्याय प्रणालीको विकास गर्न अपराध अनुसन्धानमा नवीनताको विकास गर्न जरुरी रहेको पनि औँल्याए ।
न्याय प्रणालीलाई थप प्रभावकारी र छिटोछरितो बनाउन सरोकार राख्ने निकायबीचको समन्वय बढाउनुपर्ने आवश्यकता औँल्याउँदै प्रधानन्यायाधीश राउतले वैज्ञानिक, वस्तुनिष्ठ र प्रमाणका आधारमा अनुसन्धान गर्न जरुरी रहेको बताए ।
संविधान र कानुनको सिद्धान्तका आधारमा न्यायलाई नतिजामुखी बनाउन सफल अनुसन्धानले सहयोग गर्ने उल्लेख गर्दै उनले कार्यशालाले न्यायलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
