भक्तपुरमा जनचेतनामूलक र्‍याली

भक्तपुर । डेंगु रोगबारे जनचेतना अभिवृद्धिका लागि शनिबार भक्तपुर नगरपालिकाले जनचेतनामूलक र्‍याली आयोजना गर्‍यो । भक्तपुर नगरको दुधपाटीबाट सुरु भएकोे र्‍यालीमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी एवं सहकारीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।
ठाउँठाउँमा चुन, फिंडेल छर्कंदै, पर्चा वितरण गरेर डेंगु रोकथामबारे सचेतना अभियान सञ्चालन गरियो।
र्‍याली दुधपाटीबाट, नासमना, तौमढी, स्कुलढोका , दत्तात्रय, सूर्यमढी हुँदै च्याम्हासिंहस्थित ख्वप अस्पताल पुगेर सभामा परिणत भएको थियो । सभामा डेंगु ज्वरोबाट सुरक्षित व्यवहारका लागि नगरवासीमा अनुरोध गरियो ।
भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनील प्रजापतीको अगुवाइमा आयोजना भएको र्‍यालीपश्चात्को सभामा नगरप्रमुख प्रजापतीले दसैंको मुखमा डेंगु संक्रामक रूपमा जनस्तरमा फैलिएर अस्पताल भरिभराउ भइसकेकाले डेंगुबाट बच्न नगरवासीलाई आग्रह गरे । उनले डेंगु मात्र होइन अन्य संक्रामक रोगबाट पनि बच्न खानपिनमा ध्यान दिन आग्रह गरे । दसैंमा गरिने विविध गतिविधिले स्वास्थ्यमा असर नपरोस, दुर्घटनामा नपरून् भन्दै नगरप्रमुख प्रजापतीले सभ्य नगरवासीको भूमिकामा रहन नगरवासीमा आग्रह गरे ।
कार्यक्रममा ख्वप अस्पतालका डा. अमर प्रजापतीले डेंगुलई सामान्य रोगको रूपमा मात्र नलिई लक्षण देखिने बितिक्कै चिकित्सकको सल्लाह लिएर मात्र औषधीको सेवन गर्न आग्रह गरे ।
यसैगरी ख्वप असपतालका डा. रत्नसुन्दर लासिवाले भक्तपुर नगरमा मात्रै ५३० जनामा डेंगु संक्रमण पुष्टि भइसक्दा जिल्लाभर २०औं हजारमा संक्रमण फैलिसकेको हुन सक्ने भएकाले थप सचेतनाको आवश्यकतामा जोड दिए ।


Recommended For You