कलिलैमा विवाह : गर्भपतन किशोरावस्थामा

सुर्खेत । कर्णाली प्रदेशमा किशोरावस्थामै गर्भपतन गराउने किशोरी धेरै पाइएको छ । कम उमेरमा गर्भवती भएर स्वास्थ्यका हिसाबले जोखिमपूर्ण छ भने गर्भपतन गराउन त झनै खतरा हुने चिकित्सक बताउँछन् ।

पछिल्लो दुई वर्षको तथ्यांकअनुसार सुर्खेतमा गर्भपतन गर्ने २० वर्ष मुनिका किशोरीहरूको संख्या डरलाग्दो छ। आर्थिक वर्ष २०७७–०७८ मा गर्भपतन गर्नेमध्ये दुई सय ४० जना २० वर्ष मुनिका किशोरीहरू थिए ।

त्यस्तै, आर्थिक वर्ष २०७८–०७९ मा तीन सय २६ जना २० वर्षमुनिका किशोरीले गर्भपतन गरेको तथ्यांक स्वास्थ्य सेवा कार्यालयले दिएको छ । यो विवरण सूचीकृत स्वास्थ्य संस्थाबाट गर्भपतन गराउनेहरूको मात्र हो । सुरक्षित गर्भपतनका लागि निश्चित स्वास्थ्य संस्थाहरू तोकिएका छन् । अहिले पनि सुरक्षितभन्दा असुरक्षित गर्भपतन गर्नेहरूको संख्या ठूलो छ । सुरक्षित गर्भपतन सबैको पहुँचमा नहुनु तथा समाजका डरले पनि धेरैजसो महिलाहरू असुरक्षित रूपमा गर्भपतन गराउन बाध्य छन् ।

आर्थिक वर्ष २०७६–०७७ मा सुर्खेतमा दुई हजार चार सय ८३ जनाले गर्भपतन गरेका थिए । २०७७–०७८ मा दुई हजार चार सय ७३ जनाले गर्भपतन गरे । आर्थिक वर्ष २०७८–०७९ मा यो संख्या बढेर दुई हजार ६ सय १५ जना पुगेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

किशोरी अवस्थामा प्रजनन् अंगहरूको पूर्ण विकास नहुँदै गर्भधारणा गर्नु निकै जोखिमपूर्ण हुने स्वास्थ्यकर्मीले बताए । अहिले पनि सुरक्षित गर्भपतन सेवाको पहुँचमा धेरै महिलाहरू छैनन् । गर्भपतन सेवा सहर केन्द्रित छन् । ग्रामीण क्षेत्रका महिलाहरू ज्यान नै जोखिममा राखेर असुरक्षित रूपमा गर्भपतन गराउँदै आएका छन् । दक्ष जनशक्ति र सूचीकृत स्वास्थ्य संस्थाको अभावमा यो सेवा सबैको पहुँचमा पुग्न नसकेको हो ।


Recommended For You