घिमिरे रुपन्देही ५ मा एमालेको आधिकारिक उम्मेदवार

भैरहवा । रुपन्देही (५) मा वसुदेव घिमिरेले आधिकारिकता पाएका छन् । एउटै निर्वाचन क्षेत्रमा दुईजनालाई एमालेले सिफारिस दिएपछि अन्योल बनेको थियो ।

प्रतिनिधिसभा सदस्यका लागि आइतबार भएको मनोनयन दर्तामा एमालेबाट क्षेत्र नम्बर ५ को प्रतिनिधिसभाका लागि घिमिरे र खिमलाल भट्टराईले सिफारिस पाएका थिए । शनिबारसम्म सो क्षेत्रमा कसले चुनाव लड्ने भन्ने अन्योल थियो ।

एउटै पार्टीका दुईजनाको उम्मेदवारी दर्ता भएपछि पहिला दर्ता गराउनेले आधिकारिता पाउने निर्वाचन निर्देशिका २०७९ मा उल्लेख भएबमोजिम घिमिरेलाई आधिकारिकता दिएको निर्वाचन अधिकृत चिन्तामणि शर्माले जानकारी दिए ।

निर्वाचन अधिकृत शर्माले निर्वाचन ऐन तथा निर्देशिकाअनुसार पहिलोपटक दर्ता भएका घिमिरेलाई आधिकारिता प्रदान गरिएको बताए । घिमिरे तिलोत्तमा नगरपालिकाका पूर्वमेयर हुन् । भट्टराई राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर मनोनयन दर्ता गर्न गएका थिए ।


Recommended For You