रद्द गर्‍यो निर्वाचन आयोगले लक्ष्मण थारूको उम्मेदवारी

 

धनगढी । कैलाली ५ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका लक्ष्मण थारूको उम्मेदवारी रद्द भएको छ ।

थारूलाई उच्च अदालत दिपायलले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी जन्मकैद तथा ज्यान मार्ने उद्योगमा थप ५ वर्ष कैद सजाय सुनाएको छ । सो सजाय पूरा नभएको र काराबासमा पनि नबसेके भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले उनको उम्मेदवारी रद्द गर्ने निर्णय गरेको हो ।

मुख्य निर्वाचन अधिकृत आमप्रसाद अर्यालले गरेको निर्णयमा भनिएको छ, ‘२०७७ कात्तिक १९ गते उच्च अदालत दिपायलले गरेको फैसला अनुसार लक्ष्मण थारूले अझै २१ वर्ष कैद भुक्तान गर्नुपर्ने देखियो, निजले सर्वोच्च अदालतमा पुनरावेदन गरेको भए पनि उनी अदालतमै उपस्थित नभएका कारण प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन ०७९ को दफा ३१(६०) बमोजिम उनको उम्मेदवारी खारेज गरिन्छ ।’

नाबालकसहित राष्ट्र सेवाका कर्मचारीको ज्यान जाने गरी भएको टीकापुर घटनामा दोषी ठहर भएका व्यक्तिले उम्मेदवारी दिएको भन्दै धनगढी–१५ का रामबहादुर सिंहले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीमा लक्ष्मण चौधरीविरुद्ध उजुरी दिएका थिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सो उजुरीको जवाफ मागेपछि लक्ष्मण थारूले जवाफ दिएका थिए । उनको जवाफ वारिसमार्फत् बुंदिलाल चौधरीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पेस गरेका थिए ।


Recommended For You