एजेन्सी । नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई जन्मस्थान पाकिस्तान पुगेकी छन् । तालिबानको असफल हत्या प्रयासको १० वर्षपछि युसुफजाई पकिस्तान फर्किएकी हुन् । पाकिस्तानमा रहँदा उनले बाढी प्रभावित क्षेत्रका मानिससँग भेट गर्ने छिन् । यो वर्ष पाकिस्तानमा एक दशकयताकै ठूलो वर्षा भएको छ ।
किशोरी शिक्षा अभियान चलाएको आरोप लगाउँदै पाकिस्तान तालिबान आबद्ध लडाकुले उनीमाथि गोली प्रहार गर्दा मलाला १५ वर्षकी थिइन् । तत्काल उनलाई बेलायत लगेर उपचार गरिएको थियो । त्यसपछि उनले विश्वव्यापी रूपमा बालिका शिक्षाको अभियानमा लागेकी थिइन् । उनी नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने अहिलेसम्मकै सानो उमेरकी व्यक्ति हुन् ।
आक्रमणको १०औँ वार्षिकीको दुई दिनपछि स्वदेश फर्किएकी उनी दक्षिणी सहर कराँचीमा उत्रेकी थिइन् । उनले वर्षापछिको बाढीबाट प्रभावित मानिसहरूसँग भेट गर्ने भएकी छिन् ।
बाढीले पाकिस्तानको एक तिहार्इलाई भूमि जलमग्न बनेको थियो भने लाखौँ मानिस विस्थापित भएका छन् । बाढीले ४२ अर्ब बराबरको भौतिक क्षति भएको छ ।
