काठमाडौं । निर्वाचन आयोगले तीनवटा चुनाव चिह्न हेरफेर गरेको छ । आयोगले शनिबार विज्ञप्ति जारी गर्दै ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्धारित चिह्नमध्ये तीनवटा निर्वाचन चिह्नमा सामान्य हेरफेर गरिएको जनाएको हो ।
आयोगको २७ असोजको निर्णयअनुसार
प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, ०७९ को दफा ८७ ले दिएको अधिकार प्रयोग गरी ती निर्वाचन चिह्नको अनुसूचीमा हेरफेर गरिएको हो । निर्वाचन आयोगको अभिलेखमा रहेको निर्वाचन चिह्नको नाम र चिह्नमा केही भिन्नता देखिएको र आयोगमा रहेको अभिलेख र निर्देशिकामा रहेको विवरणबीच भिन्नता पाइएकाले उक्त निर्णय गरिएको हो ।
निर्णयबमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, ०७९ को अनुसूची २९ को क्रम सङ्ख्या १३ मा रहेको हाम्रो नेपाली पार्टीको निर्वाचन चिह्न लौरो र अनुसूची– ३० को खण्ड (क) मा रहेका स्वतन्त्र उम्मेदवारको लागि निर्धारित निर्वाचन चिह्नअन्तर्गत डोजर र क्रस खुकुरी निर्वाचन चिह्नमा हेरफेर गरिएको छ । हेरफेर गरिएका निर्वाचन चिह्नसहितको विवरण आयोगको वेभ साइटमा राखिएकोे आयोगका प्रवक्ता कमल भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
