काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि चार वटा प्रदेशको मतपत्र ढुवानी सम्पन्न भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र ढुवानी सम्पन्न भएको हो ।
बिहीबार मनाङ र मुस्ताङ जिल्लाका लागि आवश्यक मतपत्र हेलिकप्टरमार्फत ढुवानी भएसँगै चारवटा प्रदेशको मतपत्र ढुवानी सम्पन्न भएको हो । शुक्रबारदेखि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत प्रदेश १ को मतपत्र ढुवानी सुरु हुने निर्वाचन आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र भने यसअघि नै ढुवानी सम्पन्न भइसकेको छ ।
यसपटक पहिलो हुने निर्वाचित हुने तथा समानुपातिक निर्वाचन प्रणालीका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताका लागि करिब ८ करोड मतपत्र आवश्यक पर्ने छ । जसमध्ये अब २५ लाख ९४ हजार मतपत्र मात्र छपार्इ हुन बाँकी छ ।
शुक्रबारसम्म सबै मतपत्र छपार्इ सम्पन्न हुने र २५ कात्तिकम्म प्रत्येक निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुग्ने आयोगले जनाएको छ ।
