काठमाडौँ । प्रसिद्ध भारतीय गीतकार समीर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिने भएको छ । बलिउडमा निर्माण भएका चलचित्रमा सबैभन्दा धेरै गीत लेखेका उनले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाइसेका छन् । उनले छ सय ५० भन्दा बढी चलचित्रका लागि चार हजारभन्दा बढी गीत लेखेर रेकर्डमा नाम दर्ता गरे।
गीतकार समीरले सन् १९८३ देखि गीत रचना सुरु गरे । उनले भारतमा निर्मित विभिन्न भाषाका चलचित्रका लागि गीत रचना गरिसकेका छन् । उनले लेखेका गीतहरू हिन्दी चलचित्रका नेपाली पारखीमाझ पनि निकै लोकप्रिय छन् । उनलाई आगामी मङ्सिर २ गते काठमाडौँमा लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार सङ्घ नेपालको सङ्युक्त आयोजनामा ‘समिर अभिनन्दन’ गर्न लागिएको हो । साहित्यकला मन्दिरका अध्यक्ष मेघा चौधरीले प्रसिद्ध गीतकार समीरलाई नेपालमा सम्मान गर्न पाउनु खुसीको कुरा भएको बताए ।
त्यसैगरी गीतकार सङ्घका अध्यक्ष वसन्त वित्यासी थापाले आफूहरूको उद्देश्य गीत रचनालाई प्रेरणा दिनु रहेको भन्दै सर्वाधिक गीत लेखनमा विश्वमै परिचित समीरको अभिनन्दन नेपाली कलाकारहरुका लागि पनि गौरवको विषय हो भने । गीतकार समीरले रचना गरेका ‘परदेशी परदेशी’, ‘तुम पास आए’, ‘मेरा दिल भी कितना पागल हे’, ‘कभी खुसी कभी गम’, ‘मुझे निन्द ना आए’, ‘तुम दिलकी धडकन मे’ लगायतका गीत लोकप्रिय छन् । यी गीत नेपालमा पनि अधिक रूचाइने हिन्दी गीतमा पर्छन् ।
