जनकपुरधाम । मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले निष्पक्ष पत्रकारिता लोकतन्त्रको मेरुदण्ड हो भन्दै पत्रकारिता क्षेत्रको प्रबर्द्धनबाटै लोकतन्त्र स्थायी बताउनुपर्छ भनेका छन् । राष्ट्रिय समाचार समितिको ६३ औँ वार्षिकोत्सवमा सभामुख मण्डलले पत्रकारिताको संस्थागत विकासका लागि राज्यका सबै निकायको सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताए ।
“राज्यपक्ष पत्रकारिताको संस्थागत विकासमा सहयोगी बन्नपर्छ,” मण्डलले भने, “अनि पत्रकारको भूमिका समाज सुधार र जनतालाई उत्प्रेरित गर्ने हुनपर्छ ।” पछिल्लो समय सञ्चार माध्यम र सामाजिक सञ्जालमा पत्रकारले पस्कदै आएका सामग्रीले कतिपय सन्दर्भमा जनतामा निरासा र कुण्ठा भर्ने काम गरेको मण्डलले टिप्पणी पनि गरे । “तपाईंहरका कामले जनतामा आशा जगाउनुुपर्छ, राज्यसम्बद्ध निकायमा देखिने बेथितिको अन्दाजमा हैन, तथ्यपरक तथा खोजमूलक सूचना दिनपर्छ,’’ उनले भने । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले राससलाई जनकपुरधामबाट मैथिली भाषाको समाचार सेवा दिन आवश्यक संसाधन जुटाउन सहयोग गरिने प्रतिबद्धता जनाए ।
नगरप्रमुख साहले राससबाट मैथिली भाषामा समाचार सेवा सुरु गर्न रासससँग उपमहानगरले सैद्धान्तिक सहमति गरिसकेकाले अब चाँडै त्यसलाई अन्तिमरूप दिइने बताए । धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले पत्रकारले हतारमा समाचार सम्पे्रषण गर्ने दौडमा सत्यतथ्यलाई बिर्सन नहुनेमा जोड दिए।
मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार सीताराम अग्रहरि, मधेस आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रिङ्कु गायत्री मिश्र र धनुषा शाखा अध्यक्ष मोनिका झासहितका वक्ताले शुभकामना दिए । रासस मधेस प्रदेश कार्यालयका प्रमुख टिकाराम सुनारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
