मुख्यमन्त्री जमकट्टेलको विपक्षमा मतदान गर्न कांग्रेसको निर्देशन

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलका विपक्षमा मतदान गर्न निर्देशन दिएको छ ।

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकले आफ्नो पार्टीका सम्पूर्ण प्रदेश सभा सदस्यलाई तटस्थ नबस्न र विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो । बैठकले मुख्यमन्त्री जम्कट्टेललाई २०७९ माघ ३ गते विश्वासको मत दिएकामा २०८० फागुन २३ मा बागमती प्रदेश सरकारबाट कांग्रेस बाहिरिएपछि प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएकाले विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामालाई निर्देशन दिएको हो ।

बागमती प्रदेश सभामा मुख्यमन्त्री जम्कट्टेलले सोमबार विश्वासको मत लिँदै छन्। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । बागमतीको एक सय १० सदस्यीय प्रदेश सभामा बहुमत कायम रहन मुख्यमन्त्री जम्कट्टेलले ५६ मत प्राप्त गर्नुपर्ने हुन्छ । प्रदेश सभामा कांग्रेसका ३७, नेकपा (एमाले) का २७, नेकपा (माओवादी केन्द्र)का २१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १३, नेकपा (एकीकृत समाजवादी) का सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई सदस्य छन् ।


Recommended For You