मुख्यमन्त्री जम्कट्टेललाई तेस्रोपटक विश्वासको मत प्राप्त

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । बागमती प्रदेश सभामा उनले ५६ जना सांसदको मत प्राप्त गर्दै विश्वासको प्राप्त गरे । मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभामा रहेका एक सय १० सदस्यमध्ये बहुमत सदस्य ५६ जनाको मत प्राप्त गरे । एक सय आठजना प्रदेश सभा सदस्य उपस्थित भएकामा उनलाई सत्ता गठबन्धन दल नेकपा (एमाले)का २७, नेकपा (माओवादी केन्द्र) को २१, नेकपा (एकीकृत समाजवादी) को सात र हाम्रो नेपाली पार्टीका एक गरी ५६ जनाले विश्वासको मत दिएका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका ३७ जना सांसदले विश्वासको मतको विपक्षमा मतदान गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र नेपाल मजदुर किसान पार्टी तटस्थ बसे । राप्रपा नेपालको सभामुखबाहेक १२ र नेमकिपाको तीन मत रहेको छ । प्रदेश सभामा हाम्रो नेपाली पार्टीका एक सदस्य अनुपस्थित भए ।पहिलो र दोस्रो पटक सजिलै विश्वासको मत पाएका मुख्यमन्त्री जम्कट्टेलले यसपटक विश्वासको मत लिने अन्तिम समयसम्म बहुमत सदस्य जुटाउन कसरत गर्नुपरेको थियो । नेपाल कम्युनिष्ट पार्टी (एकीककृत समाजवादी)लाई मुख्यमन्त्री आलोपालो गर्ने सहमतिपछि विश्वासको मत दिन तयार भएको बताइएको छ । दुई प्रदेश सभा सदस्य रहेको हाम्रो नेपाली पार्टीबाट शैलेन्द्र बज्राचार्यले मात्र विश्वासको मत दिए ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा नेपालको संविधानको धारा, १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । कांग्रेसले विश्वासको मत फिर्ता लिएको चैत २२ गते ३० दिन पुग्दैछ ।

यसअघि पहिलोपटक नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीका ७० प्रदेश सभा सदस्यको समर्थमा २०७९ साल पुस २५ गते मुख्यमन्त्री बनेका थिए ।सङ्घ सरकारमा समीकरण परिवर्तनसँगै उनले दोस्रोपटक २०७९ साल चैत १० गते विश्वासको मत लिएका थिए । विश्वासको मत प्राप्त गरेपछि मुख्यमन्त्री जम्कट्टेलले सबैको विश्वासलाई साथमा लिएर प्रदेशबासीको हितमा काम गर्ने बताए ।


Recommended For You