विश्व कला दिवसः कला बजारकै चिन्ता

काठमाडौँ । पाका चित्रकार किरण मानन्धरले कला क्षेत्रबाटै नाम कमाए । आफ्नो परिचय स्थापित गरे । अनि दाम नि ? यो प्रश्न उनलाई सधैको ‘जोक’ जस्तै लाग्छ रे । उनले यसको एउटै उत्तर दिने गरेका छन्, “कला अमूल्य छ ।”

उनले भने जस्तै कला बहुमूल्य छ । कलाकारको मेहनत र सिर्जनाको मोलतोल गर्न कठिन छ । तर, बाँच्नकै लागि कला सिर्जना गर्ने कलाकारले कलाको मूल्य नराख्न सम्भव पनि छैन । कलाकार एससी सुमन भने कलाको मोल उसको मेहनतले झल्काउने बताए । विश्व कला दिवसका अवसरमा उनले बिहान ५ बजे नै ‘क्यानभास’ कोर्न सुरु गरे । दिवस मनाउनु भनेको कामै नगरी बस्नु होइन भन्ने उनको सोच छ । यसै महिनामा एकल चित्रकला प्रर्दशनीको तयारीमा रहनुभएका उनले समसामयिक मिथिला कला चित्रकारको रुपमा प्रख्यात छन् ।

उनले भने, “कलाकारले जति मेहनत र धैर्यता राख्छ उति अमूल्य हुन्छ ।” यद्यपि पछिल्लो युवा पुस्तामा संघर्ष नै नगरी सफलताको आश गर्ने प्रवृत्ति देख्दा उनी खिन्न छन् । कलाकार मनिष लाल श्रेष्ठले कला संरक्षण गर्न र व्यवसायिक बनाउन आफ्नै घरमा ग्यालरी सञ्चालन गर्दै आएका छन् । ललितपुरस्थित ‘एमक्युव’ ग्यालरी सञ्चालन गर्दै आएका उनी विगत केही वर्ष यता कला क्षेत्रको बजार खस्किएको अनुभव सुनाए ।

उनका अनुसार विगतमा ८० प्रतिशत नेपाली कलाकारले चित्र किन्दथे भने अहिले ८० प्रतिशत विदेशी पर्यटकको भरमा ग्यालरी धानिएको छ । नेपाली कलाका पारखी नेपाली नै हुनुपर्छ भन्ने कलाकार मनिषको मान्यता छ । “स्थानीय ग्राहक भए कलाको संरक्षण हुनुका साथै व्यापारमा स्थायित्व रहन्छ,” उनले भने, “विदेशी हुँदासम्म मात्रै किन्ने हुन्, नहुँदा के गर्ने ?”

चित्रकार नरबहादुर विक सधै आयआर्जनकै लागि मात्रै चित्र कोर्दैनन् । समाजप्रतिको उत्तरदायित्वले पनि चित्र कोर्ने गरेको उनको भनाइ थियो । यद्यपि चित्र बनाउँदा जुन मेहनत खर्चनुुहुन्छ त्यसअनुरुप आम्दानी भने नहुने उनले सुनाए । “चित्र बिक्री गर्न निकै गाह्रो छ, त्यसैले कला र व्यापार दुवैका लागि काम गर्ने गरेको छु”, उनले भने । ग्यालरीमा चित्र सजिएका छन् । तर, त्यहाँसम्म पुगेर हेरिदिने दर्शक छैनन् । बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीकी सङ्गीता थापाले विगतमा भन्दा यस वर्षमा कला व्यवसायको दृष्टिमा निराश अनुभूति गर्नु परेको बताए । “चित्र हेर्ने दर्शक आउन छाडे, आर्थिक मन्दीको प्रभाव ललितकला क्षेत्रमा परेको छ”, उनले भने ।

कलाकार एवं आकार आर्ट ग्यालरीकी प्रमुख अनिता भट्टराईले कलाको व्यवसायिकरण गर्ने शैली परिर्वतन गर्न जरुरी रहेको बताए । छिमेकी मुलुक चीन, भारत जस्ता देशमा कलाको रचनात्मक प्रवद्र्धन भएको उनको बुझाइ छ । “कला बिकाउने नीति ल्याउनुपर्छ”, उनले भने, “घरको भित्तादेखि बजारमा पाइने सामग्रीको उत्पादन समेत कलाले भरिएको हुन्छ ।” विभिन्न देश भ्रमण गरेर कलाको महत्व अवलोकन गर्नुभएकी उहाँले अन्तराष्ट्रिय विमानस्थलमा मात्रै चित्र, मूर्ति कलाले सजाउन सके कलाकारको महत्व बझुाउन सकिने उनले बताए ।

बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरी सञ्चालक संगीता थापाले आर्थिकमन्दीका कारण ग्यालरी नै धान्न मुस्किल परेको सुनाए । विगत ३६ वर्षदेखि ग्यालरी सञ्चालन गर्दै आएका उनीसँग कुनै बेला एक वर्षमा २० पटक चित्रकला प्रर्दशन गरेको अनुभव छ । सो सङ्ख्या अहिले घटेर १२ मा सीमित भएको छ ।

 


Recommended For You