सम्झौता कार्यान्वयन नभएको भन्दै लुम्बिनी प्रदेशका कृषि मन्त्रीद्वारा राजीनामा

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । मन्त्री अहिरको पार्टी जनता समाजवादी पार्टी (जसपा)ले सरकारबाट फिर्ता हुन निर्देशन दिएपछि राजीनामा दिएका हुन् ।
मन्त्री अहिरले शनिबार नै राजीनामा बुझाए पनि आइतबर मात्र सार्वजनिक भएको हो । उनले मुख्यमन्त्री जोखबहादुर महराले गत चैत २२ मा आफ्नो पार्टीसँग गरेको लिखित सम्झौता कार्यान्वयन नगरेको भन्दै नेपालको संविधानको धारा १६९ को उपधारा (२) बमोजिम राजीनामा दिएको उल्लेख गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका नेता महरा नेतृत्वको सरकारमा गत चैत २५ गते मा चार सदस्यीय मन्त्रिपरिषद् गठन गर्दा जसपाबाट अहिर बिना विभागीय मन्त्री नियुक्त भएका थिए । वैशाख ६ मा उनले कृषि तथा भूमि व्यवस्था मन्त्रीको जिम्मेवारी पाएका थिए ।
सरकार गठनका क्रममा सरकारलाई समर्थन गरेका दलबीच भएको सझौताअनुसार जसपालाई सहरी विकास तथा पर्यटन र कृषि तथा भूमि व्यवस्था मन्त्रालय दिने लिखित सझौता भएको थियो ।  प्रदेश सभामा तीनजना सदस्य भएको जसपाले सरकारलाई दिएको समर्थन भने कायमै राखेको जनाएको छ ।

Recommended For You