सांस्कृतिक कार्यक्रम ‘साराङहेयो’को आयोजना

काठमाडौँ । नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध भएको ५०औँ वर्षको स्वर्णजयन्तीका अवसरमा सांस्कृतिक कार्यक्रम ‘साराङहेयो’को आयोजना गरियो । गणतन्त्र कोरियाली दूतावासद्वारा आयोजित कार्यक्रममा विश्वमा ख्याती कमाएका ३० जना कोरियाली कलाकारले विशेष प्रस्तुति दिएका थिए । साराङहेयोको नेपाली अर्थ ‘मायाँ गर्छु’ हो ।

कोरियाका कलाकारहरु के टाईगर्सको तेक्वान्दो नृत्य समाबेस भएको कला, ग्याम्बल्जक्र्युको बि बोई नृत्य तथा नेपाली कलाकार स्ट्रउक्पपको सङ्गीतबाट दर्शकहरुलाई भरपूर मनोरञ्जन पाएका थिए । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ स्वर्णजयन्तीको सम्मान गर्दै विगतदेखि कोरिया सरकाले नेपालप्रति देखाएको भाइचारा सम्बन्धलाई भविष्यमा पनि थप गतिशील बनाउने विश्वास व्यक्त गरे ।

नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले दुई देशबीचको कूटनीतिक सम्बन्धको ५० वर्षमा विकसित सम्बन्धलाई आगामी दिनमा पनि अझ बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिँदै नेपाललाई माया गर्छु, कोरियालाई माया गर्छु र हामी साथै जाउँ भन्ने उद्घोष गरे । कोरिया सरकारले विगतदेखि नै नेपालका विभिन्न क्षेत्रमा सहयोग तथा साझेदारी गर्दै आएको छ । सन् १९७४ मे १५ तारिखका दिन नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । स्वर्णजयन्तीका अवसरमा सांस्कृतिक, आर्थिक र विकासका क्षेत्रमा विभिन्न कार्यक्रमको आयोजना भइरहेको दूतावासले जनाएको छ ।


Recommended For You