सोलुखुम्बु । स्वास्थ्य कार्यालय सोलुखुम्बुको भवन निर्माण एक दशकमा सम्पन्न भएको छ । २०७१ देखि सुरु गरिएको भवन निर्माण पटकपटक म्याद थप गर्दै गत वैशाखमा सम्पन्न भएको हो ।
०७१ माघ २० गते दुई वर्षमा निर्माण सक्नेगरी नीलगिरि निर्माण सेवाले दुई करोड ३८ लाख तीन हजार ५३ को लागतमा जिम्मा लिएको थियो । निर्धारित समयमा निर्माण नभएपछि पटकपटक म्याद थप गरी दश वर्षमा भवन सम्पन्न भएको स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले बताए । आफू कार्यालयमा आएदेखि सबैसँग समन्वय गर्दै ताकेता गरेपछि निर्माणले निरन्तरता पाएको उनको भनाइ छ ।
भवन हस्तान्तरण भएसँगै गत वैशाख १६ गते स्वास्थ्य कार्यालय भाँडाको भवनबाट आफ्नै भवनमा सरेको प्रमुख तिवारीले जानकारी दिए । उनका अनुसार लामो समय अलपत्र छाडिँदा निर्माणमा प्रयोग गरिएका काठहरु कुहिएर अर्को फेर्नुपरेको थियो । “अहिले निर्माण कम्पनीले काम सकेर हामीलाई हस्तान्तरण गरेको छ । अझै रङ्गरोगन, वाइरिङलगायत काम बाँकी छन् । ढिलै भए पनि सबैको सहयोगले भवन सम्पन्न भएर यहीँबाट सेवा दिन थालेका छौँ”, तिवारीले भने । दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी जिम्मेवारी पाएको कम्पनीले लापरबाही गर्दा राज्यले स्वास्थ्य कार्यालयका लागि घरभाडामा मात्रै ५० लाख खर्च गरेको उनले जानकारी दिए ।
निर्माण सम्पन्न गर्नुको सट्टा भवन अलपत्र छाडेर ठेकेदार बेपत्ता बन्दा कार्यालय भाडामा बस्नु परेको थियो । दश वर्षको अवधिमा स्वास्थ्य कार्यालयमा दशजना कार्यालय प्रमुख फेरिएका थिए । अहिले आफ्नै भवनबाट सेवा सञ्चालन सुरु गरेसँगै घर भाँडाबापतको कार्यालयले तिर्दै आएको वार्षिक पाँच लाख जोगिएको छ ।
४५ वर्षपछि आफ्नै भवन
स्वास्थ्य कार्यालय सोलुखुम्बुले स्थापना भएको ४५ वर्षपछि आफ्नै सुविधा सम्पन्न भवन प्राप्त गरेको छ । २०३६ मा दुर्गम हिमाली जिल्ला सोलुखुम्बुको फाप्लुमा स्थापना भएको कार्यालयले पहिलोपटक गत वैशाख १६ गते आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको हो ।
तत्कालीन जनस्वास्थ्य कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय हुँदै हाल स्वास्थ्य कार्यालय कायम भएको छ । स्थापनादेखि भाडाको भवनबाट सेवा दिँदै आएको कार्यालयले पहिलोपटक नवनिर्मित भवनबाट सेवा दिन थालेको कार्यालय प्रमुख तिवारीले जानकारी दिए। उनका अनुसार कार्यालयले पछिल्लो १७ वर्षमा घरभाडा बापत ८५ लाख खर्च गरेको छ ।
वार्षिक पाँच लाखका दरले १७ वर्षमा एकै व्यक्तिलाई ८५ बुझाइएको कार्यालयले जनाएको छ । त्यसअघि पनि कार्यालयले विभिन्न स्थानमा गरी भाडाबापत खर्च हुँदै आएको थियो । साँघुरो निजी भवनबाट कार्यसम्पादन गर्नुपर्दा चुनौतीहरुको सामना गर्नुपरेको कार्यालय प्रमुख तिवारीले बताए । उनका अनुसार ०३६ सालदेखि हालसम्म आइपुग्दा १५ जना कार्यालय प्रमुख फेरिएका छन् ।
