प्रतिनिधिसभामा उपसभामुखको पत्रबारे छानबिन गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्ने सांसदहरुले उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई लेखेको पत्रका विषयमा छानबिन गर्न माग गरेका छन् ।

केही युवालाई अमेरिका पठाउन उपसभामुख रानाले संसद्को लेटरप्याडमा अमेरिकी दूतावासलाई पत्र पठाएको र यसबारे संसद्लाई जानकारी नभएका विषयमा छानबिन गरिनुपर्ने माग सत्तापक्षले उठाएको छ । प्रतिपक्षमा रहेका दलहरुले भने उपसभामुख इन्दिरा रानासँग जोडेर आएको विषय संवैधानिक परिषद्मा सत्तापक्षले खोजेको सहजतासँग जोडेर आएको र सत्तापक्षले मिडिया ट्रायल गरेको आरोप लगाएको छ । साथै पर्याप्त छानबिन र वास्तविकता पहिचान नगरिकनै मानव तस्करीजस्तो जघन्य अपराधमा उपसभामुख रानाको नाम मुछिएकोप्रति प्रतिपक्ष दलका सांसदहरुले आपत्ति जनाएका हुन् ।

बैठकमा आकस्मिक समयमा बोल्दै सांसद रामहरि खतिवडाले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले आफ्नो पदको दुरुपयोग गरेर केही युवालाई अमेरिका पठाउन खोजेको आरोप लगाए । यस्तो गम्भीर आरोपबारे छानबिन समिति गठन हुनुपर्ने तथा उपसभामुखले नैतिकताका आधारमा संसद बाहिर रहेर अनुसन्धानलाई सघाउनुपर्ने उनको भनाइ थियो । “संसद् सचिवालयलाई थाहै नदिइ उपसभामुखको लेटरप्याडमा कसले कुन प्रयोजनका लागि सिफारिस गरेको हो भनेर छानबिन गरिनुपर्छ । यसका लागि उपसभामुख संसद्भन्दा बाहिर बसेर छानबिनका लागि सघाउनुपर्छ”, खतिवडाले भने, “यस्तो अवस्थामा उपसभामुखले संसदको कमाण्ड सम्हाल्न सुहाउँछ कि सुहाउँदैन ? यो गम्भीर प्रश्न हो ।”

सांसद रघुजी पन्तले राष्ट्रिय परिचयपत्रको आवश्यकता र औचित्यमाथि प्रश्न गरे । विभिन्न सामाजिक सुरक्षाभत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि त्यसले अप्ठ्यारो भएको उहाँको भनाइ छ । राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदा ज्येष्ठ नागरिकलाई बढी समस्या परेको उल्लेख गर्दै सांसद पन्तले यसमा सहजीकरण गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण गराए ।

अर्का सांसद सुमना श्रेष्ठले उपसभामुख रानाको विषयमा मिडिया ट्रायल भएको बताए । संवैधानिक परिषद्मा सत्तापक्ष अल्पमतमा परेपछि उपसमामुख रानालाई मानव तस्करीजस्तो गम्भीर आरोप सत्तापक्षले लगाएको र रानाको चरित्र हत्या गर्ने नियतले सत्तापक्षले यो विषय उठाइरहेको उनको भनाइ छ । सबैका लागि विधि र पद्दति लागू हुनुपर्नेमा उनले जोड दिए । सांसद दामोदार पौडेल बैरागीले उपसभामुख रानाले अमेरिकी दूतावासलाई पठाएको पत्र र उपसभामुखको विज्ञप्तिबाट मानव तस्करीको उद्देश्य देखिएको धारणा राखे । उपसभामुख सहभागी कार्यक्रममा सरोकार नै नभएका व्यक्तिहरुलाई अमेरिका पठाउन भिसा सहजीकरण गर्न पत्र पठाएको देखिएकाले यस विषयमा थप छानबिन गरिनुपर्ने उनको भनाइ छ ।


Recommended For You