कार्यसूचीमा प्रवेश नगरी प्रदेश सभाको बैठक स्थगित

सुदूरपश्चिम । प्रदेश सरकारका मन्त्रीको अनुपस्थितिपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित गरिएको छ । बैठक प्रारम्भ गर्दै सभामुख भीमबहादुर भण्डारीले सुदूरपश्चिम प्रदेश नियमावलीअनुसार बैठकमा मन्त्रीको उपस्थिति नभएकाले अर्को सूचना प्रकाशित नभएसम्म बैठक स्थगित गरिएको जानकारी गराए ।

नेपाल कम्युनिस्ट पार्टी(एमाले) र नेपाली कांग्रेसलगायत दलको मागबमोजिम प्रदेश प्रमुखले आह्वान गरेको अधिवेशन यही साउन ८ देखि जारी छ । विपक्षीको मागमा आह्वान गरिएको यो अधिवेशनको बैठकमा सरकारका मुख्यमन्त्री र मन्त्री सुरुको दिनदेखि नै अनुपस्थित रहने रणनीतिमा थिए । तर मुख्यमन्त्रीको निर्देशनविपरीत दुई दिनका बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका थापा उपस्थित भएका थिए । सरकारको नीतिविपरीत बैठकमा सहभागी भएकी मन्त्री थापालाई आइतबार मुख्यमन्त्रीले बर्खास्त गरेका थिए ।

गएको असार २० मा नेकपा (एमाले) समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता एवं मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा हुनुहुन्छ । एमाले समर्थन फिर्ता लिएपछि अध्यादेशमार्फत बजेट ल्याउन सरकारले प्रयास गरिरहँदा कांग्रेस, एमालेलगायत दलले विषेश अधिवेशन माग गरेका थिए ।

यसबीच विशेष अधिवेशनअन्तर्गत तेस्रो दिनको बैठकमा सरकारको उपस्थिति नभएपछि विपक्षी दल कांग्रेस, एमाले, नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यले प्रदेश सभा सचिवालयको मूल प्रवेशद्वारमा दिउँसै ‘टर्च लाइट’ बालेर सरकारको खोजी गरेका छन् । अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले संविधानमा भएको व्यवस्थाबमोजिम यही साउन १८ गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ ।


Recommended For You