जनताको आर्थिक समृद्धिलाई जोड्न योजना कार्यान्वयन गरिने

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश योजना आयोगको बैङ्कमा रहेका योजनालाई जनताको आर्थिक समृद्धिसँग जोड्नु आवश्यक रहेको बताएका छन् ।

प्रदेश योजना आयोगद्वारा आयोजित प्रदेशको समग्र आर्थिक विकास तथा लगानीको वातावरणमा सुधारका क्षेत्रमा अनुभव सिकाइ आदानप्रदान कार्यक्रमको उद्घाटन गर्दै उनले योजनालाई नागरिकको पक्षमा कार्यान्वयन गर्न प्रदेश सभा सदस्य, राजनीतिक नेतृत्व, विकासका साझेदारीहरु र नागरिक समाजसँग आवश्यक छलफल गरी गरी अघि बढ्ने धारणा राखे ।

मुख्यमन्त्री कार्कीले प्रदेश स्थापनाको विगत छ वर्षको अवधिमा विकासको पर्याप्त उपलब्धि हासिल गर्न सफल भएका भन्दै नीतिगत र कानुनी रुपमा प्रदेशलाई बलियो बनाउँदै स्थापित गराउन आगामी दिनमा हुने संविधान संशोधनमा सातवटै प्रदेश एकजुट भएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

मुख्यमन्त्री कार्कीले भने, “प्रदेशमा विकासको गतिलाई तीव्रता दिन राष्ट्रिय पुँजीको विकास आवश्यक छ । यसका लागि स्थानीय स्रोत, साधन र खनिज पदार्थको अधिकतम उपयोग र निर्यात गर्नुको विकल्प छैन ।” उनले मुलुकको व्यापार घाटा कम गर्न कृषि, पशुपालन व्यवसायमा उल्लेखनीय वृद्धि गरी जलविद्युत्को व्यपारलाई पनि विस्तार गर्नुपर्ने धारणा राखे ।

मुख्यमन्त्री कार्कीले पर्यटक आवागमन वृद्धि गर्न पर्यटकीय क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधारको विकास, सहज यातायात र व्यवस्थित बासस्थानमा व्यवस्था गरी दुई छिमेकी देशका नागरिकलाई आकर्षण गर्नुपर्ने सुझाव दिए । उनले भने, “भारतीय पर्यटकलाई नेपाल आगमनमा सहजता दिन भारतीय रुपैयाँ पाँच सय र एक हजारको नोट एवं २५ हजारभन्दा बढी रकम ल्याउनका लागि पहल गरिरहेको छु ।”

 


Recommended For You