धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले प्रदेश सरकारलाई बलियो बनाएको खण्डमा मात्र लोकतन्त्र, गणतन्त्र मजबुत भइ संविधान बलियो हुने बताएका छन् । मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले संविधान दिवसका अवसरमा जनकपुरधाममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले संविधान जारी भएपश्चात्का उपलब्धिलाई संस्थागत गरी अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।
मुख्यमन्त्री सिंहले विरोध र समर्थनका बीचमा जारी भएको संविधानमा यदि केही त्रुटि छभने त्यसलाई संशोधन गरी अघि बढ्नुपर्ने धारणा राखे । उनले प्रदेशमा आफ्नो प्रशासन नभएसम्म सुशासन कायम गर्न चुनौती रहेको बताउँदै शिक्षामा सुधारका लागि शिक्षक भर्नाको अधिकार प्रदेशलाई दिनुपर्ने बताए । देशमा सङ्घीयता प्राप्तिपछि विभिन्न उपलब्धि र विकास भएको उल्लेख गर्दै संविधानको मूल मन्त्रलाई पालना गरी अघि बढेमा देश समृद्ध हुने उनको भनाइ थियो । उनले सङ्घीयता आन्दोलनबाट प्राप्त भएकाले कसैले भन्दैमा समाप्त नहुने दाबी गरे ।
