देश–देशबीचको सांस्कृतिक सम्बन्धले आत्मीयता बढाउने

ललितपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले विभिन्न देशबीचको सांस्कृतिक सम्बन्धले आत्मीयतामा नयाँ उचाइ हासिल हुने बताएका छन् ।
सातदोबाटोस्थित ब्राइट फ्युचर उच्च माध्यमिक विद्यालयले विभिन्न आठ देशका बालनाट्य कलाकारहरुको सहभागितामा आयोजना गरेको चौथो लालाबाला काठमाडौँ अन्तर्राष्ट्रिय बाल नाट्य महोत्सवको आयोजित उद्घाटन समारोहमा उहाँले विभिन्न देशका नाट्यकलाहरुको प्रदर्शनी र प्रस्तुतिले एकअर्काका संस्कृतिमा साक्षात्कार हुन सकिने बताए ।
“हामीले विभिन्न देशका कला चिन्नेछौं, त्यस्तै हाम्रो कला अरुलाई चिनाउन सक्नेछौं, यस्ता कार्यले संसारभरिक भाषा, संस्कृतिका बिषयमा मन्थन हुनेछ, यसले हामीले भाषा, कला, संस्कृतिको समन्वय र अन्तरसम्बन्धलाई स्थापित गर्छौं”, मन्त्री पाण्डेले भने । विद्यालयको कक्षाकोठामा सिकिरहेका उहाँले विद्यार्थीहरुलाई बिभिन्न देशका कला, संस्कृति, भाषा र सभ्यताको बारेमा वृहत् जानकारी दिने काम महत्त्वपूर्ण भएको जानकारी गराए । “विद्यार्थीहरुलाई ठूलो दायरामा पुगेर सिक्न, बुझ्न, बाहिरी संसारबारे जानकारी लिन यसले सहयोग पुग्नेमा विश्वास छ”, उनले भने ।
मन्त्री पाण्डेले विद्यार्थीसँग भएको क्षमतालाई पहिचान र प्रस्फुटन गराउन शिक्षक र अभिभावकले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने उल्लेख गर्दै उनले विद्यार्थीले पनि आफ्नो प्रतिभा र क्षमतालाई पहिचान गरेर त्यसैमा लगनशीलताका साथ लाग्न सक्नुपर्नेमा जोड दिए ।  रवीन्द्रनाथ टैगोर, बालकृष्ण सम, विपी कोइरालालगायतले सुरुमै सफलता हासिल गरेको नभइ विभिन्न भोगाइका क्रममा आफूलाई परिस्कृत गर्दै अगाडि बढेको उनको भनाइ थियो । उनले नाट्य क्षेत्रमा भविष्य बनाउन चाहने विद्यार्थीले आफूलाई परिस्कृत गर्दै अगाडि बढाउनुपर्ने समेत बताए ।

Recommended For You