संसद्लाई प्रभावकारी बनाउन सामूहिक प्रयत्न जरुरी छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले सङ्घीय संसद्लाई प्रभावकारी र थप जिम्मेवार बनाउन सबैपक्ष एकजुट भएर लाग्नुपर्ने खाँचो औँल्याएका छन् ।
सङ्घीय संसद् सेवा दिवसका अवसरमा संसद् सचिवालयले सिंहदरबारमा आयोजना गरेको ‘सङ्घीय संसद्को प्रभावकारितामा संसद् सेवाको भूमिका’ विषयक अन्तरक्रियामा सभामुख घिमिरेले संसद्लाई प्रभावकारी बनाउन सामूहिक प्रयत्न जरुरी रहेको भन्दै आपसी सहकार्य र समन्वयबाट कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए । उनले समयसापेक्ष संसदीय सेवालाई प्रभावकारी पार्ने र संसद्को महत्वलाई बढाउन नयाँ ढङ्गले कानुनी व्यवस्था गरेर जानुपर्नेमा बताए ।
“सङ्घीय संसद्लाई प्रभावकारी हामी सबैले आआफ्नो भूमिकालाई प्रभावकारी बनाउँदै एकता र समन्वयबाट अघि बढ्नुपर्छ”, सभामुख घिमिरेले भने, “कानुन निर्माण र संसद् सचिवालयले आवश्यक सहजीकरण गरेर यसको गरिमा र महत्वलाई प्रभावकारी बनाउँदै जानुपर्छ ।” सङ्घीय संसद्लाई कसरी प्रभावकारी बनाउन सकिन्छ, यसबारे मार्गनिर्देश गर्न सकेका अवस्थामा दवसको सान्दर्भिकता अझ बढ्ने उनको भनाइ थियो ।
सभामुख घिमिरेले संसद् सचिवालयले दिने सेवासुविधाका आधारमा संसद्लाई प्रभावकारी बनाउन सकिने भन्दै यसमा सरोकार भएका सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए । “छुट्टै सेवाको आवश्यकता परेकाले ऐनको व्यवस्था भएर सोही अनुरूप संसद् सञ्चालन भइरहेको छ । अठार वर्षको सेवाको समीक्षा गरौँ, तुलनात्मक रूपमा प्रगति भएको पाउने छौँ”, उनले भने, “संसदीय अभ्यास र हामीले गरेका उपलब्धि अरु मुलुकको तुलनामा भन्दा पनि नेपालको विगतको तुलनामा हेरिनुपर्छ ।”
सभामुख घिमिरेले राज्यका प्रमुख तीन शक्तिहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीचको समन्वय, आपसी सहकार्य र सम्बन्धलाई प्रभावकारी बनाएर लैजानुपर्ने आवश्यकता औँल्याए ।
“कार्यपालिका र व्यवस्थापिकाबीचमा प्रभावकारी समन्वय जरुरी छ”, उनले भने, “कार्यपालिकाले व्यवस्थापिकालाई छल्न खोज्ने, व्यवस्थापिकाले कार्यपालिका विरुद्ध जानखोज्ने प्रवृत्तिले संसद्को काम कारबाही र संसदीय सेवालाई प्रभावकारी बनाउन सक्दैन, त्यसैले यो विषयलाई बहस र छलफल गरेर टुङ्ग्याइनुपर्छ ।” सभामुख घिमिरेले सङ्घीय संसद्को कार्यक्षेत्रलाई प्रदेशस्तरमा विस्तार गर्न पनि बहस पैरवी जरुरी रहेको उल्लेख गरे ।

Recommended For You