जलवायु परिवर्तनको असर स्थानीय तहमा बढी परेको छ : मुख्यमन्त्री लामा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले जलवायु परिवर्तनको असर स्थानीय तहमा नै बढी परिरहेको धारणा राखेका छन् । ‘जलवायु कार्यको स्थानीयकरण सार्वजनिक सम्पदा संरक्षण र न्यायमा लैङ्गिक दृष्टिकोण’ विषयक बागमती प्रदेश संवाद कार्यक्रममा उनले जलवायु परिवर्तनका कारण स्थानीय स्तरमा परम्परागत सीप, ज्ञान, खाद्यान्नलगायत जीवनशैलीमा नै प्रभाव पारेका कारण अब न्यायको मुद्दा सशक्त बनाइनुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री लामाले वातावरण प्रदूषण हुँदा सबैलाई प्रभाव पार्ने बताए । उनले वातावरण प्रभाव मूल्याङ्कन गर्दा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै कानुन बनाएर काम गर्नुपर्ने धारणा राखे । जलवायु परिवर्तनको प्रभाव स्थानीय स्तरमा बढी पर्ने भएकाले यसको सचेतना स्थानीय तहमा बढी हुनुपर्ने उन भनाइ थियो ।
बागमती प्रदेश सरकारको सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले जलवायु परिवर्तनको असर बढेकोप्रति चिन्ता व्यक्त गरे । उनले नीतिगत रूपमा मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सार्वजनिक सम्पदा जोगाउन नसके पहिचान पनि मेटिँदै जाने उल्लेख गरे ।  वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले सुविधाका नाममा पृथ्वीलाई मानव समुदायले विनाश गर्दै लगेको उल्लेख गर्दै जलवायु परिवर्तनले हिमाल पग्लँदै गएको र तटीय बस्तीका समुदाय जोखिममा रहेकोप्रति चिन्ता व्यक्त गरे ।
बागमती प्रदेशसभा सदस्य एवम् वन तथा वातावरण समिति सदस्य भारती पाठकले समन्वय, सहकार्य र सहअस्तित्वसहित अगाडि बढेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न लाग्नुपर्नेमा जोड दिए । उनले तीनवटै तहको सरकारबीच समन्वय नहुँदा समस्या भएको बताए ।  प्रदेशस्तरीय संवाद कार्यक्रममा सङ्घीय सरकारले निर्माण गरेका जलवायुसम्बन्धी नीति, ऐनलाई स्थानीय तहसम्म ल्याउँदा परेको कठिनाइ, समस्यालाई कसरी समाधान गर्नेलगायत विषयमा बृहत् छलफल भएको थियो ।

Recommended For You