कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले ज्येष्ठ नागरिकहरूको योगदान र भूमिकालाई कदर गर्नुपर्नेमा जोड दिएका छन् ।
‘सभ्य समाजको आधारः ज्येष्ठ नागरिकमैत्री घर परिवार’ भन्ने मूल नाराका साथ वीरेन्द्रनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालयद्वारा सुर्खेत वीरेन्द्रनगमा आयोजित ‘चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस–२०८१’ मूल समारोहको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री कँडेलले जेठो पुस्तालाई सम्मान गर्नुपर्ने बताए । उनले ज्येष्ठ नागरिकप्रति हेर्ने दृष्टिकोण समेत बदल्नुपर्नेमा जोड दिए ।
“ज्येष्ठ नागरिकहरूको योगदानका कारण आजको समाज सूचना र प्रविधिको यो युगमा आइपुगेको छ”, मुख्यमन्त्री कँडेलले भने, “उहाँहरूको सीप, कला र सिर्जनाको पुस्तान्तरण गर्नुका साथै भोगाई तथा अनुभव सुन्न र ग्रहण गर्न आवश्यक छ ।” यो धर्तीमा जन्मने हरेकले ज्येष्ठ हुनै पर्ने अवस्थालाई हृदयगम गरी ज्येष्ठ नागरिकहरूको योगदान र भूमिकालाई आजका दिनमा कदर गर्नुपर्नेमा उनले जोड दिए ।
