मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले अबको शिक्षा सीप र रोजगारीसँग जोडिनुपर्नेमा जोड दिएका छन् । हेटौँडास्थित मकवानपुर बहुमुखी क्याम्पसद्वारा सञ्चालित विजनेश इन्क्युवेसन सेन्टर उद्घाटन गर्दै उनले प्रविधिमैत्री र अध्ययनअनुसारको सीप पनि जरुरी रहेको उल्लेख गरे ।
“जे पढेका छौँ, जे सीप छ सोही सीपअनुसारको रोजगारी गर्नुपर्छ, अध्ययन र सीप एकातिर काम अर्कोतिर गर्नाले युवा विदेशिनुपरिरहेको छ”, उनले भने । औद्योगिक क्षेत्रसमेत रहेको मकवानपुरमा उद्योगसँगको सहकार्यमा विषयवस्तु अध्यापन गराउनुपर्नेमा जोड दिँदै उहाँले पढाइका क्रममा शिक्षक र विद्यार्थी दुवै सकारात्मक रहनुपर्ने बताए ।
कक्षा १२ सम्मको अध्ययनपछि युवा विदेश जानेको लर्को लागेकाले पढाइसँगै सीप सिकेर पढ्दै काम गर्दै गर्दा युवा शक्ति विदेशिनुमा रोक्न सकिने उनको भनाइ थियो ।
