मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै क्षेत्रमा महिलाको सहभागिता वृद्धि गर्नुपर्ने आवश्यकता रहेको जनाएका छन् ।
नेपाल बार एसोसिएसन महिला कानुन व्यवसायी महिलाहरूको ३१औँ राष्ट्रिय सम्मेलनको समापन कार्यक्रममा उनले न्यायसम्पादन, सरकारी क्षेत्र र सङ्घसंस्थामा महिलाको सहभागिता वृद्धिका लागि विशेष प्रोत्साहन गरी अवसर सिर्जना गर्नुपर्ने सुझाव दिए ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको कार्य क्षेत्राधिकार परेमा महिला कानुन व्यवसायीहरूको विराटनगर घोषणापत्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले महिला इमान्दार र सक्षम हुनाले उनीहरूलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले महिलाले घरसँगै समाज र राष्ट्रलाई समृद्ध बनाउन महत्वपूर्ण योगदान पुर्याउने विचार राखे ।
मुख्यमन्त्री कार्कीले प्रदेशले २०८२ मा मनाइने पर्यटन वर्षमा महिला कानुन व्यवसायीहरूको राष्ट्रियस्तरको कार्यक्रम यस क्षेत्रमा गर्न आग्रह गर्दै यसमा सरकारले विशेष सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले स्थानीय पालिकालाई महिला कानुन व्यवसायी राख्न सुझाव दिँदै यसबाट पालिकाको न्यायसम्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले विराटनगरमा निर्माण गर्ने संरचनामा एउटा अन्तर्राष्ट्रियस्तरका सभाहल बनाउने योजनासहित काम भइरहेको जानकारी दिए ।
