काठमाडौं महानगरको बजार अनुगमन जारी

काठमाडौं महानगरको बजार अनुगमन जारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्र पारेको छ । दसैं नजिकिएसँगै उपमेयर सुनिता डंगोल नेतृत्वको टोली हरेक दिन बजार अनुगमनमा निस्कने गरेको छ ।

महानगरको टोलीले बिहीबार साल्ट ट्रेडिङ, बर्गर हाउस, केएफसी फास्टफुडलगायतका ठाउँबाट अखाद्य बस्तु जफत गरेको थियो । साल्ट ट्रेडिङ कर्पोरेसनको जडीबुटी बिक्री केन्द्रबाट अखण्ड बान्डका २० केजी तौलका ६ बोरा चामल, सोही बान्डका २५ केजी तौलका २ बोरा चामल र १ केजी तौलका १७ प्याकेट मकैको च्याँख्ला बिक्री गर्न रोक लगाएको छ । उत्पादन अनुज्ञापत्र नभएकोले यी सामान बिक्रीमा रोक लगाइएको खाद्य गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखा प्रमुख डा. अवधेश झाले बताए ।

टोलीले पुरानो सिनामंगल मन्दिर नजिक केएफसी फास्डफुडमा भेटिएको अखाद्य २ लिटर तेल, २५० एमएलका ५ बोतल एप्पल साइडर भेनेगर नष्ट गरेको छ । पेप्सीकोला टाउन प्लानिङ फुटबल ग्राउन्ड नजिक रहेको द बर्गर हाउस एन्ड क्रन्ची फ्राइ चिकेनको भान्छामा प्रयोग भइरहेको १४ लिटर तेल र यही तेलमा फ्राइ गरिएको १ किलोग्राम कुखुराको मासु पनि नष्ट गरेको छ ।

आँखाले स्पष्ट देखिने गरी सडे गलेको हुनाले नष्ट गरिएको अभिलेख उतार गर्दै अनुगमनकै क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँका खाद्य निरीक्षक नवराज आचार्यले साल्ट टे«डिङ, केएफसी फास्टफुड र द बर्गर हाउसलाई ७ दिनभित्र खाद्य अनुज्ञापत्र लिएर कार्यालयमा उपस्थित हुन पत्र दिए ।

अनुगमन टोलीले भाटभटेनी सुपर मार्केटको हरेक शाखामा खाद्य अनुज्ञापत्र राख्न र प्याकेजिङ्का लागि घरेलु तथा साना उद्योग कार्यालयको इजाजत पत्र लिन अनुगमन टोलीले निर्देशन दिएको छ ।
संकटा गणेश मन्दिरबाट धरहरातर्फ रहेका मासु पसलको पनि अनुगमन गरेको छ ।

महानगरको टोल फ्री नम्बरमा फोन गरेर उजुरी दिन सकिने
काठमाडौं महानगरपालिकाले १६६००१०५५११ नम्बरको टोल फ्री नम्बर पनि सञ्चालनमा ल्याएको छ ।

महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजकसमेत रहेकी उपमेयर सुनिता डंगोलले आफू ठगिएको शंका लागे महानगरलाई नि:शुल्क टोल फ्री नम्बरमा सम्पर्क गरेर उजुरी दिन उपभोक्तालाई आग्रह गरिन् ।


Recommended For You