५ कात्तिकभित्र जरिवाना रकम नबुझाए बन्दसूचीबाट नाम हटाउने आयोगको चेनावनी

काडमाडौं । स्थानीय तह निर्वाचन ०७९ मा उम्मेदवार भएर तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारहरूले ५कात्तिकभित्र जरिवाना रकम बुझाउनुपर्ने निर्वाचन आयोगले जनाएको छ । आइतबार एक सूचना जारी गर्दै आयोगले जरिवाना रकम बुझाउन निर्देशन दिएको हो ।

आयोगको ३१ भदौको निर्णयानुसार निर्वाचन आयोग ऐन २०७३ को दफा २६ बमोजिम जरिवाना भएको थियो । ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेस गरेको बन्दसूचीमा समावेश भएको भए जरिवाना नबुझाउने उम्मेदवारको नाम बन्दसूचीबाट हटाइने आयोगले जनाएको छ।

त्यस्ता उम्मेदवारहरूले आफूलाई लागेको जरिवानाबापतको रकम उम्मेदवाहरूको योग्यतासम्बन्धी दाबी विरोधको निवेदन उपर जाँचबुझ गर्ने समयसीमा ५ कात्तिक कार्यालय समयभित्र बुझाएमा जरिवाना असुलउपर भएको कायम गरी कानुनबमोजिम गर्न निर्देशन दिएको छ ।

यसैगरी, जरिवानाबापतको रकम नबुझाउने उम्मेदवारहरूको हकमा बन्दसूचीबाट नाम हटाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिने निर्णय आयोगले गरेको छ ।


Recommended For You