उच्चपदस्थले प्रयोग गरेका सरकारी साधनस्रोतको व्ययभारको जानकारी दिन आयोगको सरकारलाई निर्देशन

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र संघीय सरकारमा रहेका व्यक्तिहरूले निर्वाचन प्रचारप्रसारका सन्दर्भमा सरकारी साधनस्रोतको प्रयोगबारे सरकारको ध्यानाकर्षण गराएको छ । खास गरी प्रदेश र संघीय मन्त्रीहरूले हेलिकोप्टरको प्रयोग गर्दै राज्यकोषबाट खर्च भएको हो कि व्यक्तिगत खर्च भएको हो ? त्यसबारे जानकारी दिन सरकारलाई निर्देशन दिएको छ ।

विभिन्न समाचारमाध्यममा आएका समाचार र आयोगमा प्राप्त उजुरीबारे आयोगले सोमबार विभिन्न निर्णयसमेत गरेको छ ।
यस्तो छ निर्णय:

१. निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन नेपाल सरकार तथा प्रदेश सरकारको समेत मुख्य जिम्मेवारी भएकाले निर्वाचन प्रचारप्रसारका सम्बन्धमा निर्वाचन आचारसंहिता, ०७९ को दफा ५ को खण्ड (क) तथा खण्ड (क १) लगायतका सम्पूर्ण व्यवस्थाको पालना गर्न तथा गर्न लगाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत नेपाल सरकारका मन्त्रीहरूलाई तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत प्रदेश सरकारका मन्त्रीहरूलाई निर्देशन दिने ।

२. नेपाल सरकारका प्रधानमन्त्रीलगायत मन्त्रीहरूले हेलिकप्टर प्रयोग गरी विभिन्न स्थानमा गई निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित गतिविधि गरेको भनी विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट सार्वजनिक भएको र प्रस्तुत विषयमा आयोगमा विभिन्न माध्यमबाट उजुरीसमेत परेको सन्दर्भमा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलको उच्च नेतृत्वमा रहेका व्यक्ति तथा मन्त्रीहरूसमेतले हेलिकप्टर सेवा प्रयोग गर्दा लागेको खर्चको व्ययभार सरकारी कोषमा पर्छ, पर्दैन स्पष्ट गरी लेखी पठाउन तथा निर्वाचन आचारसंहिता लागू भएको मिति २०७९ र ०६र १२ पछि नेपाल सरकारका मन्त्री वा अन्य पदाधिकारीबाट सरकारी कोषबाट रकम व्यहोर्ने गरी के कुन प्रयोजनको लागि हेलिकप्टर सेवा प्रयोग भएको छ भन्ने विषयमा आयोगलाई जानकारी गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिने ।

३. प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वा चनमा भाग लिने राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन खर्चको सीमा मिति २०७९र०६र३१ को नेपाल राजपत्रमा प्रकाशन भइसकेको सन्दर्भमा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलको उच्च नेतृत्वमा रहेका व्यक्ति तथा मन्त्रीहरुसमेतले हेलिकप्टर सेवा प्रयोग गरेको भनी विभिन्न सञ्चारमाध्यमबाट सूचना प्राप्त भएकोले त्यसरी हेलिकप्टर प्रयोग गर्दा लागेको खर्च कुन राजनीतिक दलको खर्चको सीमाभित्र पर्ने हो सो खुलाई पठाउन । त्यसरी हेलिकप्टर सेवा प्रयोग गर्ने पदाधिकारीसँग सम्बन्धित राजनीतिक दलहरुलाई लेखी पठाउने ।

४. निर्वाचन प्रचारप्रसारका सन्दर्भमा सरकारी साधन स्रोत (हेलिकप्टर तथा अन्य साधनसमेत) प्रयोग गर्नु निर्वाचन आचारसंहिताको प्रतिकूल हुनुको साथै यदि अख्तियारको दुरुपयोग भएको हो भने निर्वाचन प्रचारप्रसारका सन्दर्भमा हेलिकप्टरलगायतका सरकारी साधनको उपयोग भएको विषयमा आवश्यक निगरानी तथा अनुसन्धान गरीदिन अख्तियार दुरुदुपयोग अनुसन्धान आयोगला ई अनुरोध गरी पठाउने।


Recommended For You