काठमाडौँ । महानगरपालिका वडा नं. २६ ले विभिन्न खेलका प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक, अन्तर्राष्ट्रिय रेफ्री, वडाको पहिचान र प्रतिष्ठामा योगदान गर्ने व्यक्तिहरूलाई सांस्कृतिक सम्मान नगल पुरस्कारसहित सम्मान गरेको छ । वडामै आयोजना गरिएको कार्यक्रममा वडा अध्यक्ष एवं सुशासन समितिका संयोजक ख्यामराज तिवारीले सम्मान गर्नुभएको हो ।
कार्यक्रममा १३ दिनमा ३ पटक सगरमाथा आरोहण गर्ने आरोही पूर्णिमा श्रेष्ठलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरियो । त्यस्तै स्वर्ण पदक विजेतालाई नगद १५ हजार रुपैयाँसहित सम्मान, कास्य पदक विजेतालाई नगद ५ हजार रुपैयाँसहित सम्मान तथा खेलाडीहरुलाई प्रशंशा पत्र प्रदान गरिएको थियो ।
वडाका खेलाडीहरुले प्रथम खुला कास्की भेट्रान्स पुरुष बास्केटबल प्रतियोगिता २०८१, ललितपुरमा आयोजना गरिएको वडा स्तरीय खुला टेवुलटेनिस प्रतियोगितालगायत खेलमा पदक प्राप्त गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष ख्यामराज तिवारीले, पदक जित्न अरु सवै अवसर छोडेर समर्पित खेलाडीको जीविकोपार्जनका लागि सरकारले ध्यान दिनु पर्ने बताउँदै वडाले त्यस कार्यको थालनी गरेको बताउनुभयो । ‘खेलमा भावना र प्रतिष्ठा दुवै जोडिएको हुन्छ । अन्तरराष्ट्रिय स्तरमा खेल्दा देशको पहिचान अभिवृद्धि हुन्छ । यसकारण खेलाडीहरुको प्रोत्साहनका लागि काम थालेका छौँ ।’ तिवारीले सन्तुलित विकासको प्रसङ्ग उठाउँदै भन्नुभयो, ‘पूर्वाधार विकाससँगै सामाजिक, आर्थिक, शैक्षिक, जनजीवन, जीविकोपार्जन, आरोग्य जीवनलगायत समाजका सबै अङ्गको सन्तुलित विकासमा हाम्रो जोड छ ।’
वडा सदस्य एवं खेलकुद संयोजक प्रवेश श्रेष्ठले खेल विकासका योजना सुनाउँदै भन्नुभयो, ‘हामी तत्काल विभिन्न ५ वटा विधाका खेलका कार्यक्रम सञ्चालन गर्दैछौँ । हामीले सञ्चालन गर्ने खेलले युृवाहरुको सक्रियतालाई बढाउने, स्वच्छ समाज निर्माणमा योगदान हुने आशा गरेका छौँ ।’

