काठमाडौँ । काठमाडौं महानगरपालिकाले फाइटर रवीन्द्र ढाटलाई २ लाख र प्रथम खोखो विश्वकप २०२५ मा उपविजेता बनेका महिला/पुरुष टोलीलाई ११–११ लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको छ ।
सम्मान कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सामाजिक विकास समितिका संयोजकलगायतको उपस्थिति रहेको थियो । सम्मान सामाजिक विकास समितिको सिफारिसमा गरिएको हो ।
सम्मान कार्यक्रममा बोल्दै सामाजिक विकास समितिका संयोजक रामकुमार केसीले यस्ता खेलले नेपालको शिर ठाडो बनाएको बताउनुभयो ।
नेपालका रवीन्द्र ढाटले भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा बान्टमवेट च्याम्पियनको उपाधि जित्नुभएको थियो । सम्मान ग्रहणपछि ढाटले महानगरपालिकाको सम्मानले आफूलाई थप हौसला मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, “हजुरहरूले खेलाडीलाई सम्मान गर्नुभएकोमा म धेरै खुशी छु । अब आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्ने कोसिस गर्नेछु । यो सम्मानले हामीलाई अगाडि बढ्न थप प्रेरणा दिन्छ ।”
त्यस्तै, खोखोको पुरुष टोलीले नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा भएको फाइनलमा आयोजक भारतसँग ५४–३६ को अन्तरले पराजय बेहोरेको थियो । खोखो टोलीका कप्तानले मन्तव्य राख्दै सम्मानले हौसला बढाएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।महिला टोलीले भने फाइनलमा भारतसँग ७८–४० को अन्तरले पराजय बेहोरेको थियो ।

