विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र एपीएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेटको उपाधिका लागि बुधबार प्रतिस्पर्धा गर्दैछन् ।
मंगलबार सेमिफाइनलमा पुलिसले वाग्मती प्रदेशलाई ५० रन र एपीएफले अर्को विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मीलाई ४७ रनले पराजित गरे ।
ओपनरद्वय प्रदीप ऐरी र आसिफ शेखको १ सय ५० रनको साझेदारी तथा लोकेश बमको विष्फोटक अर्धशतक मद्दतमा एपीएफले आर्मीलाई ४७ रनले हरायो ।
दिनको दोस्रो सेमिफाइनलमा टस जितेर ब्याटिङ गरेको एपीएफले लोकेशको सानदार फिनिसिङपछि २ विकेट गुमाई २ सय ३० रनको ठूलो योगफल खडा गर्यो । १८ बलमा ६६ रनको अविजित इनिङ्स खेल्नेक्रममा उनले १४ बलमै अर्धशतक पार गरे । घरेलु क्रिकेटको ट्वान्टी–२० फर्म्याटमा बनेको यो सबैभन्दा तीव्र अर्धशतक हो । लोकेशले ९ छक्का र २ चौका प्रहार गरेका थिए ।
त्यसअघि ओपनरद्वय प्रदीप र आसिफले पहिलो विकेटका लागि १ सय ५० रनको साझेदारी गर्दै सानदार सुरुआत दिलाएका थिए । आसिफ ४३ बलमा १० चौका र ५ छक्कासहित ८४ रन बनाएर आउट हुँदा प्रदीप ५७ रनमा अविजित रहे । प्रदीपले ५३ बल खेल्दा ७ चौका र १ छक्का प्रहार गरे ।