धनुषा ४ मा त्रिपक्षीय प्रतिस्पर्धा, गठबन्धन बलियो

जनकपुर । धनुषा ४ प्रतिनिधिसभामा ०७४ कै प्रतिस्पर्धी उम्मेदवार फेरि चुनावी मैदानमा उत्रेका छन् । गठन्धनको तर्फबाट कांग्रेसबाट महेन्द्र यादव, नेकपा एमालेबाट रघुवीर महासेठ र जनता समाजवादी पार्टी (जसपा)बाट महाजन यादवले उम्मेदावरी दिएका छन् । त्यसै चर्चित हास्य कलाकार कृष्ण महतो पनि स्वतन्त्र उम्मेदवार छन् ।
गठबन्धनबाट प्रदेश सभा (क) मा भर्खर जसपा छाडेर आएका शेषनारायण यादव र (ख) मा एकीकृत समाजवादीका शत्रुधन महतो उम्मेदावर छन् । शत्रुधन उद्योग तथा पर्यटन प्रदेशमन्त्रीसमेत हुन् ।
एमालेले प्रदेश (क) मा कांग्रेबाट प्रवेश गरेका सन्तोष यादव र (ख) मा मिथिला नगरपालिकाका पूर्वमेयर हरिनारायण महतोलाई उम्मेदवार बनाएको छ । जसपाले प्रदेश (क) मा पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव र (ख) मा चन्देश्वर महतोलाई उम्मेदवार बनाएको छ । ज्ञानेन्द्र (क) का प्रत्यक्ष निर्वाचित निवर्तमान प्रदेश सांसद हुन् ।
प्रतिनिधिसभामा एमालेका उम्मेदवार रघुवीर र गठबन्धनका कांंंग्रेस सहमहामन्त्री महेन्द्रबिच कडा प्रतिस्पर्धा हुने देखिन्छ । ०७४ को निर्वाचनमा महासेठले २२ हजार ५३२ मत ल्याएर भने निकटतम प्रतिद्वन्दी महेन्द्रले १९ हजार ९९१ मत पाएका थिए । महाजनले १९ हजार ६६२ मत प्राप्त गरेका थिए । यो चुनावमा पनि यी तीनै उम्मेदवार दोहरिएपछि कडा चुनावी प्रतिस्पर्धा हुने अनुमान छ ।
विगत हेर्दा र गठबन्धन भएकाले यस क्षेत्रमा कांग्रेस बलियो देखिन्छ । स्थानीय निर्वाचनमा धनुषा ४ अन्तर्गत पर्ने पाँचवटा पालिकामध्ये मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका र मिथिला विहारी नगरपालिका कांग्रेसले जितेको छ । उसले क्षिरेश्वरनाथ नरपालिकाको बहुसंख्यक वडा पनि जितेको छ ।
यस क्षेत्रका ४२ वडामा पार्टीका वडाध्यक्षहरूले पाएको मतका आधारमा कांग्रेसको पल्ला भारी देखिन्छ । कांग्रेसले २६ हजार १५९ र एमालेले २४ हजार ३९४ मत पाएको छ । तेस्रोमा जसपाले ८ हजार ३८८, चौथोमा एकीकृत समाजवादीले ८ हजार १६४ र क्रमश: माओवादी केन्द्रले ४ हजार ४८५, लोसपाले २ हजार २८४ र जनमत पार्टीले १९५० मत पाएको चुनावी तथ्यांक छ । स्थानीय चुनावी मतका आधारमा गठबन्धनका उम्मेदवार महेन्द्र यादवको जित निश्चित जस्तै देखिन्छ । कांग्रेस, समाजवादी, माओवादी र लोसपाको मत जोड्ने हो भने ४० हजार ९९२ मत गठबन्धनको हिसाब छ । यहाँ एमाले र जसपाको अलगअलग प्रतिस्पर्धाले चुनाव जित्न महेन्द्रलाई सहज छ ।


Recommended For You