वागमती प्रदेशस्तरीय दोस्रो खुल्ला लिग तेक्वान्दो प्रतियोगिता टोखा नगरपालिकामा भइरहेको

काठमाडौँ । वागमती प्रदेशस्तरीय दोस्रो खुल्ला लिग तेक्वान्दो प्रतियोगिता टोखा नगरपालिका वडा नम्बर ५ को प्राङ्गणमा भइरहेको छ । दुई दिनसम्म चल्ने तेक्वान्दो प्रतियोगिता जिल्ला समन्वय समिति काठमाडौँको संयोजन एवं बागमती प्रदेश तेक्वान्दो सङ्घको प्राविधिक सहयोगमा टोखा नगरपालिकाले आयोजना गरेको हो ।

             जिल्ला समन्वय समिति प्रमुख : सन्तोष बुढाथोकी

तेक्वान्दो खेलका सम्बन्धमा जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख सन्तोष बुढाथोकी बरियता निर्धारणले खेलाडीहरूमा आफू कुन स्थानमा छु भन्ने थाहा हुने र आगामी दिनमा कसरी अगाडि बढ्ने योजना बनाउन सक्ने बताउनुहुन्छ । त्यस्तै खेलाडीको आत्मबल बढाउन पनि बरियता निर्धारणले सहयोग गर्ने प्रमुख बुढाथोकीको भनाइ थियो ।

               टोखा नगरपालिका प्रमुख : प्रकाश अधिकारी

यसैगरी टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी खेलाडी राष्ट्रको स्वाभिमान, सम्मान, इज्जत र प्रतिष्ठा समेत भएको बताउनुहुन्छ । टोखा नगरपालिका खेलाडीलाई उत्प्रेरित गर्न टोखा नगरपालिकामा मात्र सीमित नभई प्रतिभावान खेलाडी देशको जुनकुनै कुनामा भए पनि उसको क्षमता अभिवृद्धि गर्न नगरपालिका लागिपर्ने प्रमुख अधिकारीको भनाइ थियो ।

             बागमती प्रदेश तेक्वान्दो सङ्घका अध्यक्ष : केशव पुरी

बागमती प्रदेश तेक्वान्दो सङ्घका अध्यक्ष केशव पुरी केन्द्र सरकार र प्रदेश सरकारले वास्ता नगरे पनि धेरै अन्तर्राष्ट्रिय पदक विजेता तेक्वान्दो खेललाई जिल्ला समन्वय समिति काठमाडौँ र स्थानीय सरकारहरूले स्थान दिएको बताउनुहुन्छ । यस्तो महत्वपूर्ण खेलमा पनि राज्यपक्षबाट राजनीति गरेर कमजोर पार्न नहुने उहाँको तर्क थियो ।

वरियता सहितको खुल्ला लिग तेक्वान्दो प्रतियोगितामा पुरुष ५ तथा महिला ५ गरी जम्मा १० तौल समूहमा प्रतिस्पर्धा भइरहेको छ । लिगमा पहिलो खेलाडीले १०, दोस्रोले ७ र तेस्रो हुनेले ३ अङ्क पाउनेछन् ।

दोस्रो खुल्ला लिग तेक्वान्दो प्रतियोगितामा ५५ जना महिला र १०० जना पुरूष गरी १५५ जना खेलाडी सहभागी भएका छन् ।


Recommended For You