दक्षिणकाली नगरपालिका पूर्ण खोप सुनिश्चित पालिका

काठमाडौँ । दक्षिणकाली नगरपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ । ‘खोप निशुल्क पाइन्छ, खोप सुरक्षित छ र खोपले जीवन रक्षा गर्छ’ भन्ने नारालाई आत्मसात गर्दै आज एक समारोहका बिच नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

घोषणा सभालाई सम्बोधन गर्दै दक्षिणकाली नगरपालिकाका उपप्रमुख वसन्ती डङ्गोलले पालिकाका ९ वटै वडामा सबैलाई खोप लगाउन सकेकोमा आफूलाई गर्व लागेको बताउनुभयो । विगतमा खोप लगाउन नपाएका कारणले अपाङ्गता भएका व्यक्ति नगरपालिकामा अहिले पनि हुनुहुन्छ । तर, अब आगामी दिनमा नयाँ पुस्ताले खोप लगाउन नपाएकै कारण कोही पनि अपाङ्गताको सिकार हुनु नपर्ने अवस्थाको निर्माण भएको उपप्रमुख डङ्गोलको भनाइ थियो ।

घोषणा सभाका प्रमुख अतिथि जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख सन्तोष बुढाथोकीले खोपको कारण कसैको भविष्य नबिग्रोस् भनी शुभकामना व्यक्त गर्नुभयो । पूर्ण खोप सुनिश्चितता र यसको दीगोपनका लागि जिल्ला समन्वय समिति काठमाडौँले सधैँ सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उहाँले खोप सुनिश्चत गर्न महिला स्वास्थ्य स्वयंसेविका दिदीबहिनीको ठुलो योगदान रहेकोमा स्वयंसेविकाहरूको उच्च प्रशंसा गर्दै स्रोतले भ्याएसम्म उहाँहरूको भत्ता अथवा सेवासुविधा बढाइदिनुहुन समेत पालिकालाई आग्रह गर्नुभयो ।

समारोहमा समन्वय प्रमुख बुढाथोकीले उपप्रमुख वसन्ती डङ्गोललाई पूर्णखोप सुनिश्चतताको प्रमापत्र समेत प्रदान गर्नुभएको थियो । सँगसँगै पूर्ण खोप सुनिश्चितता तथा दीगोपना प्रतिबद्धता-पत्रमा सहभागी सबैले हस्ताक्षर गरी प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

Recommended For You